दक्षिण भारतीय सुपरस्टार थलापति विजयले घोषणा गरे राजनीतिक दल

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले घोषणा गरे राजनीतिक दल

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार थलापति विजयले शुक्रबार राजनीतिक पार्टीको घोषणा गरेका छन् । लामो समयदेखि उनी राजनीतिमा प्रवेश गर्ने चर्चा भैरहेको थियो । यसैबीच थलापति विजयको पार्टीको नाम ‘तमिझागा वेत्री कझगम’ अर्थात् विजयी तमिल संघ राखिएको छ ।

यद्यपि, विजयको पार्टीले सन् २०२४ को लोकसभा चुनाव भने लड्ने छैन । यी तमिल अभिनेताले विज्ञप्ति जारी गर्दै सन् २०२४ को चुनावमा पार्टीले भाग नलिने उल्लेख गरेका छन् । ‘धर्म, जात र जताततै भ्रष्टाचार मात्रै देखिने वर्तमान राजनीतिक वातावरणलाई मध्यनजर गर्दै भ्रष्टाचारमुक्त, प्रगतिशील र धर्मनिरपेक्ष सरकारको लक्ष्य राखेको छु,’ उनले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

तमिल सिनेमा उद्योगबाट राजनीतिमा प्रवेश गर्ने ४९ वर्षीय अभिनेता पछिल्लो व्यक्तित्व बनेका छन् । दक्षिणी राज्यका दुई पूर्वमुख्यमन्त्री एमजी रामचन्द्रन र जयललिता सिनेमाका कलाकार थिए । मुख्यमन्त्रीको रुपमा काम गरेका एम करुणानिधि पटकथा लेखक हुन् । डीएमके र एआईडीएमके तमिलनाडुका दुई प्रमुख राजनीतिक संगठन हुन् ।

डीएमके संस्थापक राजनीतिज्ञ विजयकान्त तमिल सिनेमा उद्योगमा एक अभिनेता थिए । उनको गत वर्ष डिसेम्बरमा निधन भएको थियो । फेब्रुअरी २०१८ मा मक्कल निधि मैम पार्टीको स्थापना तमिल सुपरस्टार कमल हसनले गरेका थिए । त्यो पार्टी अहिले तमिनाडु राज्यमा स्थापित हुने दौडमा छ ।