संगीताको निर्देशनमा महिला शसक्तिकरणको कथा ‘चल्ने हावालाई’

संगीताको निर्देशनमा महिला शसक्तिकरणको कथा ‘चल्ने हावालाई’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक संगीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल सिनेमा ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्र मिनेट लम्बाई रहेको म्युजिक सिनेमा सार्वजनिक गरिएको हो ।

महिला शसक्तिकरणको विषयलाई समेटेर निर्माण गरिएको म्युजिकल सिनेमा हेरिसकेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उदेश्य बोकेर संघर्ष गरेमा सफलता हात पर्ने बताइन् । ‘म आफैं पनि बाल्यकालमा निकै संघर्ष गरेर स्कुल पुगेकी थिएँ । तर, मैले आफ्नो मेहनतले बर्षौदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरे । छोरीले गर्न सक्दिनन् की भन्ने सोच्ने नभएका होइनन् तर सिनेमामार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको संदेश प्रवाह हुन्छ ।’

निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैं समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन् । ‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौं ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ ।’

यो गीतमा सम्वृद्धि श्रेष्ठ, सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् । म्युजिकल सिनेमा हेरिसकेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसंगीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।

सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र संगीत रहेको गीतमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पुरा गर्न गरेको संघर्षलाई देखाईएको छ । उनको पात्र मार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट बन्चित गराउने कारण, लैंगिक विभेद जस्ता पक्षलाई देखाईएको छ । भिडियो निर्माणमा नेपाली सेनाले विशेष सहयोग गरेको निर्देशक श्रेष्ठले बताइन ।

गायिका पराजुलीले लोक गित, आधुनीक गित, पप गित, राष्ट्रिय गित, नेवारी गित, तिज गित र भजनसहित हाल सम्म करिब दुई सय गीतमा स्वर दिईसकेकी छिन् । उनको सुरभि, मनन र नमन जस्ता एल्बमहरु बजारमा उपलब्ध छन् । म्युजिकल सिनेमा ‘चल्ने हावालाई’ गायिका पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।