देशभर खुल्यो ‘दयारानी’को बुकिङ, डायस्पोरामा ४ सय शो भयो निश्चित

देशभर खुल्यो ‘दयारानी’को बुकिङ, डायस्पोरामा ४ सय शो भयो निश्चित

'दयारानी'को नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुबै देशमा सिनेमाको करिब ४ सय शो निश्चित भइसकेको छ ।

द सिनेमा टाइम्स
1.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट रिलिज हुने ‘दयारानी’ सिनेमाको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । सिनेमाले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ । सिनेमाले दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको छ । जसको लागि सिनेमाको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेको छ ।

‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४ , आइएनआइले १२ शो दिएका छन् । त्यसैगरी रञ्जना, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् ।

‘दयारानी’को नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुबै देशमा सिनेमाको करिब ४ सय शो निश्चित भइसकेको छ । सिनेमाको ओभरसिज वितरण खरिद गरेको सेभेन सिज इन्टरटेनमेन्टले हिन्दी र अंग्रेजी ठूला सिनेमाका बाबजुत नेपाली सिनेमाले धेरै शो पाएकोमा उत्साह व्यक्त गरेको छ ।

अमेरिकाका २३ थिएटरमा सिनेमाको १ सय ९७ शो पक्का भएका छन् । सिनेमा डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ। त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ । अष्ट्रेलियामा उल्लेख्यमात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा सिनेमा रिलिज हुनेछ ।

सेभेन सीज इन्टरटेनमेन्टका अनुसार ‘दयारानी’ मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ । सेभेन सीज इन्टरटेनमेन्ट ग्लोबल सिनेमाको बक्स अफिसमा नेपाली सिनेमाहरू प्रदर्शन गर्न सक्ने प्रभावशाली कम्पनी हो ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।