‘ए हो र, आफू को हो र ?’ संवाद हिट भएपछि के भन्छिन् नयन गुरुङ ?

‘ए हो र, आफू को हो र ?’ संवाद हिट भएपछि के भन्छिन् नयन गुरुङ ?

द सिनेमा टाइम्स
1.8k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माओत्से गुरुङ निर्देशित ‘दयारानी’को टिजर रिलिज भएयता ‘ए हो र, आफू को हो र ?’ संवाद बोल्ने अभिनेत्री नयन गुरुङले सिनेमाभित्र बोलेको यो संवाद चर्चित भएको छ ।

बिहीबार भएको प्रिमियरमा पनि नयनले यो संवाद बोल्ने शैली र अभिनयका लागि धेरै जनाबाट तारिफ बटुलिन् । प्रिमियरमा सहभागीहरुले उनको कामको तारिफ खुलेरै गरे । अहिले हलमा प्रदर्शरत सिनेमाले दर्शकमा राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार र शनिबार सिनेमाले उत्साहजनक ब्यापार गरेको वितरक प्रचण्डमान श्रेष्ठ ताउँछन् । बिशेषगरि सिनेमाले मोफसलमा राम्रो व्यापार गरिरहेको छ ।

पोखरामा आज सोमबार पनि सिनेमाको व्यापार घटेको छैन् । सिनेमाको यो संवादमा टिकटक, रिल्स तथा सट्स बनाउनेहरु थुप्रै छन् । ५ वर्ष अगाडि सुटिङ भएको सिनेमाले बल्ल रिलिज हुने समय पाएको छ । अभिनय गरेको लामोसमयपछि रिलिज भएको सिनेमामा आफ्नो काम मनपराइएकोमा नयन यतिबेला धेरै खुशी भएकी छन् ।

हाल बेलायतमा बस्दै आइरहेकी नयनले यो सिनेमाका लागि सालीको भूमिकाका लगि कलाकारको खोजी हुँदैछ भन्ने सुनेपछि आफै निर्देशक गुरुङकोमा पुगेकी थिइन् । सिनेमाकै लागि उनले अनुप बरालसँग काठमाडौंको एक्टर्स स्टुडियोमा अभिनय सिकेको उनले बताइन् । उनै नयनसँग हामीले सिनेमामा उनको प्रवेश र हाल पाइरहेको तारिफका बारेमा छोटो फेसबुक संवाद गरेका थियौं ।

पढ्नुहोस् नयनसँगको फेसबुक संवाद :

*यो सिनेमामा तपाईं कसरी अनुबन्धित हुनुभयो? सिनेमाको प्रस्ताव हुँदा तपाईंको सुरुवाती धारणा के थियो ?

यो मुभीको लागि निर्देशकले भन्दा म आफैले गर्छु भनेको हो किनकी उहाँहरुले सालीको भूमिकाका लागि एउटा कलेज पढ्ने मंगोलियन अनुहारको टिन एज केटी खोज्नु भएको थियो ।

*यो सिनेमाको तपाईंलाई सबैभन्दा राम्रो लागेको के हो ?

मलाई सिनेमामा उहाँहरुले देखाउनु भएको निःसन्तान दम्पतीको कथा, उनीहरुलाई समाज र परिवारले दिने दबाब मनपरेको हो। यसले हाम्रो समाजको तीतो यथार्थ देखाएको छ किनकी यस्ता कुराहरुको समाजमा खुल्ला बहस हुँदैन। यस्ता कुराले परिवारको प्रतिष्ठामा आँच आउने ठानिन्छ। यिनै यथार्थहरुको प्रस्तुति मलाई धेरै नै मनपर्‍यो।

*आफ्नो पात्रका लागि कस्तो र कसरी तयारी गर्नुभयो ?

सिनेमा सुरु हुन केही महिना अगाडि मैले काठमाडौंको एक्टर्स स्टुडियोमा अनुप बराल सरसँग तीन महिना अभिनयको प्रशिक्षण लिएको थिएँ । त्यो तीन महिनामा मैले अभिनयका बारेमा धेरै कुरा सिकें। मैले क्यामरा अगाडि कसरी प्रस्तुत हुने, संवाद बोल्ने बोल्ने तरिका सिकें। यी कुराले मलाई डेब्यू मुभीमा धेरै सहयोग गर्‍यो।

*संवाद चर्चित भइरहेछ तपाईंको, दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?

दर्शकहरुलाई मेरो संवाद र भूमिका मनपराइदिनुभएको एकदमै धेरै धन्यवाद । तपाईंहरू धेरै जनाले टिकटकहरुमा भिडियोहरु बनाउनुभएको छ बनाइरहनु भएको छ। म यी सबै हेरेर म असाध्य खुशी छु। मैले ती सबै भिडियोहरु हेरिराखेको छु। तपाईंहरुको यो साथ र सहयोगका लागि धन्यवाद, भविष्यमा पनि यस्तै माया र साथ पाइराखूँ। धन्यवाद।

*अब अर्को सिनेमा देख्न पाइन्छ? पाइन्छ भने कहिले ?

अहिलेसम्म त सिनेमाको लागि अफर पाइसकेको छैन तर राम्रो स्क्रिप्ट र मलाई सुहाउने भुमिका आयो भने तपाईंहरुले मलाई अर्को सिनेमामा निश्चित रुपमा हेर्न पाउनुहुनेछ ।