दशैंमा एनटीआरको ‘देवरा’, ‘छक्का पञ्जा ५’ र ‘गाउँ नै रमाइलो’सँग जुध्ने ?

दशैंमा एनटीआरको ‘देवरा’, ‘छक्का पञ्जा ५’ र ‘गाउँ नै रमाइलो’सँग जुध्ने ?

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतको प्रतिक्षित सिनेमा ‘देवरा’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि यो सिनेमा ५ अप्रिलमा प्रदर्शन हुने तयारीमा थियो । सिनेमाको छायांकन र पोष्ट प्रोडक्सनको काम समयमा नसकिएपछि सिनेमाको प्रदर्शन मिति धकेलिएको थियो ।

सिनेमाको निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै अक्टोवर १० अथार्त आगामी वर्षको असोज २४ गते फूलपातिमा रिलिज हुनेछ । यही मितिमा नेपाली सिनेमा ‘गाउँ नै रमाइलो’ र ‘छक्का पञ्जा ५’ रिलिज हुने तयारीमा छन् । ‘देवरा’को प्रदर्शन मिति घोषणा भएसँगै यी नेपाली सिनेमा घोषित मिति मै प्रदर्शन होलान त भन्ने चर्चा सिनेमा वृत्तमा चल्न थालेको छ ।

पछिल्लो केही वर्ष यता नेपालमा बलिउड भन्दा पनि दक्षिण भारतीय सिनेमाको दबदबा देखिन थालेको छ । जसको प्रत्यक्ष मारमा नेपाली सिनेमाका मेकरलाई पर्ने गरेको छ । यदी घोषित मिति मै ‘गाउँ नै रमाइलो’ र ‘छक्का पञ्जा ५’ रिलिज भएको खण्डमा शो बाँडफाडमा नेपाली सिनेमालाई धक्का लाग्ने देखिन्छ ।

कोराटाला शिवाको निर्देशनमा निर्माण भएको सिनेमामा जुनियर एनटीआर र बलिउड अभिनेता सैफ अली खान र जान्ह्वी कपुरको मुख्य भुमिका रहेको छ । निर्माण घोषणासँगै यो प्रतिक्षित सिनेमाको सूचीमा रहेको छ । सिनेमाको केही समय अगाडी सार्वजनिक भएको टिजरले पनि दर्शकमा चर्चा पाएको थियो ।