उपहार हेर्दा दर्शकले नयाँ उर्जा पाउनुहुनेछ : रेखा थापा

उपहार हेर्दा दर्शकले नयाँ उर्जा पाउनुहुनेछ : रेखा थापा

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पाँच वर्षपछि अभिनेत्री रेखा थापा सिनेमा ‘उपहार’ मार्फत कमव्याक गर्दैछिन् । पहिलो सन्तानलाई जन्मदिन परिवारसँग उनी अहिले अमेरिकामा रहेपनि आगामी फागुन २५ गतेबाट रिलिज हुने ‘उपहार’को प्रचार अमेरिकाबाट गरिरहेकी छन् ।

रेखाले निर्देशन र अभिनय गरेको सिनेमा ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा काम गरिनँ । तर एक दुईवटा सिनेमाका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘सिनेमामा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीका कारण सम्भव भएन ।’

रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाईमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली सिनेमा नियमित हेरिरहने र कहिल्यै नेपाली सिनेमा नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो सिनेमा हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’

‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली सिनेमामा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने बताउँछिन् । ‘हाम्रो सिनेमा आँखालाई शितल दिने किसिमको छ । सिनेमामा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् ।

रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । सिनेमामा नारीमात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको सुनाइन् ।

‘केही वर्ष यता सिनेमामा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा सिनेमा बनाएका छौं । सिनेमाको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।

रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन् । ‘सिनेमाको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरुले उत्तिकै साथ दिइरहनु भएको छ । मेला, महोत्सव होस् वा मिडिया अन्तरवार्तामा उहाँहरु सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयूक्त ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

सिनेमाको कथा सुलक्षण भारतीले लेखेका हुन् भने पटकथा र संवादमा भारतीको साथमा अभिमन्यू निरवी र माधव शर्माको संयूक्त लेखन रहेको छ । सिनेमामा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । सिनेमालाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ ।