‘रङ्गेली’को ग्याङस्टर चरित्र भेगीय हिसाबले फरक छ : दयाहाङ राई

‘रङ्गेली’को ग्याङस्टर चरित्र भेगीय हिसाबले फरक छ : दयाहाङ राई

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयका व्यस्त अभिनेता हुन दयाहाङ राई । उनले एउटा सिनेमाको छायांकन नसकिँदै अर्को सिनेमाको छायांकनमा जोडिनु पर्ने बाध्यतामा छन् । अहिले उनी पूर्वी रुकुममा ‘घरज्वाईं’को छायांकनमा व्यस्त छन् । उनले छायांकन सेटबाटै आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रङ्गेली’को प्रचार पनि गरिरहेका छन् ।

दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टर चरित्रको उठान भेगीय हिसाबले फरक छ । ‘रङ्गेली’मा विजय पात्रको भूमिकामा रहेका उनी भन्छन्, ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरु प्रायः ‘ग्रे’ छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ मान्न सकिन्छ, तर आम मानिसको सोचाइबाट हेर्दा ‘डार्क’ चरित्र नै देखिन्छ । सिनेमामा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ ।’

विजय जस्तो पात्र समाजमा जन्मियो भने त्यो घातक हुनसक्ने उनको बुझाई छ । तर, आफ्नो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरुको जीवनलाई उठान गरेको छ भन्ने उनलाई लाग्छ । दयाहाङ अगाडि भन्छन्, ‘सिनेमाले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ ।’

आफ्नो चरित्रले समाजमा देखिरहेका पात्रहरु अथवा यही जीवन बाँचिरहेकाहरुलाई चित्रण गरेको उनको ठम्याई छ । तर, आफ्नो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन भन्ने उनलाई लाग्छ । कहीँ कतै आफैंलाई खोजिरहेको पात्रमा आफूले अभिनय गरेको उनको भनाई छ । विजय चरित्र आफ्नो लागि चाखलाग्दो यात्रा रहेको अनुभव सुनाउँदै उनले एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिने बताएका छन् ।

विजय चरित्र ‘डार्क’ भए पनि त्यसभित्र इमानदारिता देख्छन्, दयाहाङ । ‘ऊ आफ्नो जीवनमा इमानदार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि, त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा सिनेमामा हेर्न पाइन्छ,’ उनले प्रस्ट्याए ।

समाजमा कोही पनि खलपात्र हुँदैन भन्ने उनको बुझाई छ । ती मानिसहरु समाजभित्र फरक भएकाले पनि समाजले ‘इग्नोर’ गर्ने उनको धारणा छ । ‘हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडि दौडिरहँदा त्यस्ता मान्छे छुट्नु हुन्न भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ,’ दयाहाङ सुनिए ।

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।