‘गोर्खा वारियर’ले चार दिनमा कमायो १ करोड ५१ लाख ग्रस

‘गोर्खा वारियर’ले चार दिनमा कमायो १ करोड ५१ लाख ग्रस

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित सिनेमा ‘गोर्खा वारियर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई सिनेमाले हलसम्म ल्याएको छ । काठमाडौंसहित मोफसलका केही हलमा सिनेमाको क्रेज राम्रो देखिन्छ ।

एकदिन अगाडी नै अर्को दिनका शो हाउसफुल भैरहेका छन् । दर्शकबाट मिलेको राम्रो वर्ड अफ माउथले सिनेमा लामो रेसको घोडा बन्ने देखिएको छ । यसबीच, निर्माण टिमले सिनेमाको व्यापार सार्वजनिक गरेको छ । निर्देशक वितरक करण श्रेष्ठले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको चार दिनको कमाई १ करोड ५१ लाख रहेको जानकारी दिए ।

वितरक श्रेष्ठले दिएको यो आँकडा सिनेमाका लागि सुखद् हो । वितरक करण श्रेष्ठले आइतबारदेखि सिनेमाको व्यापार खस्किने गरेको भएपनि ‘गोर्खा वारियर’को हकमा त्यो नदेखिएको बताए । निर्देशक चाम्स सिनेमालाई मिलेको दर्शकको साथ र प्रतिक्रियाले उत्साहित भएको बताउँछन् ।

उनी सिनेमा हेर्न आग्रह गर्दै भन्छन्, ‘विशेषगरी लाहुरेसँग सम्बन्धित व्यक्तित्वहरुलाई सिनेमा हेर्न आग्रह गर्छु । समग्रमा हामी नेपालीको कथा छ । सबैले हेर्नुपर्छ । जसले गर्दा यस्तो खालको सिनेमा निर्माण गर्न अरु निर्माता तथा निर्देशकलाई पनि प्रोत्साहन मिल्नेछ ।’ यो सिनेमा सफल भए यसको सिरिज बनाउने उनको योजना छ ।

यो सिनेमाले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ । मलाया इमरजेन्सी जंगल वारमा सन् १९४९ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको सिनेमामा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ ।