‘रङ्गेली’मा जुनकिरी पात्र प्रेमको लागि मात्रै प्रयोग भएको छैन् : मिरुना मगर

‘रङ्गेली’मा जुनकिरी पात्र प्रेमको लागि मात्रै प्रयोग भएको छैन् : मिरुना मगर

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगरले थारु युवतीको भूमिका निर्वाह गरेकी छन् । उनी सिनेमामा जुनकिरी पात्रको चरित्रमा छिन् ।

सिनेमाको यो चरित्रमा अभिनय गरिरहँदा समाजका धेरै पात्रहरुको प्रतिनिधित्व गरेको उनको बुझाई छ । जुनकिरी स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेको एउटा पात्र रहेको उनले बताएकी छन् ।

‘स्क्रिप्ट पढ्दादेखि नै मैले जुनकिरीको चरित्र विकासमा ध्यान दिएको थिएँ । मैले आफैँले पात्र चित्रण गर्दा समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई उतार्ने प्रयास गरेकी छु,’ उनी भन्छिन्, ‘सिनेमाका मुख्ख पात्रहरु विजय (दयाहाङ राई), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) मेरो जीवनमा जोडिने चरित्रहरू हुन् ।’

‘रङ्गेली’मा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग चाखलाग्दो र जटिल रहेको मान्छिन् । ‘उहाँहरू सबैसँगको जुनकिरीको यात्रा चाहिँ एकदमै जटिल छ । हरेक चरित्रको यात्रासँग जोडिँदा दर्शकमा अब के हुन्छ, कता-कता जान्छ, कसरी यस्तो हुन्छ भन्ने कौतुहलता सिर्जना हुनेछ,’ उनको बताइन् ।

मिरुनालाई आफ्नो चरित्रको आयामबाट दर्शकले धेरै कुरा प्राप्त गर्न सक्छन् भन्ने लाग्छ । प्रायः सिनेमामा महिला कलाकारलाई प्रेमको पात्रको रुपमा मात्र चित्रण गर्ने प्रवृत्ति भएता पनि ‘रङ्गेली’मा आफ्नो चरित्र प्रेमभन्दा माथि रहेको उनको बुझाई छ । सिनेमाका हरेक दृश्यमा आफूलाई चुनौती महसुस भएको पनि मिरुना बताउँछिन् ।

‘भावुक दृश्यअघि अन्य पात्रको भावना बुझ्न मलाई गाह्रो भएको थियो । पात्रसँगको सम्बन्ध र त्यो पात्रले कथाभित्र के पाउन खोजिएको छ, त्यो कुरा बुझ्न र कथाको विकास गर्न केही समय लाग्यो । जुनकिरी चरित्र निर्वाह गर्दा आफूले नभोगेका कुराहरु भावनामार्फत बाहिर निकाल्न मलाई गाह्रो भयो,’ उनी भन्छिन्, ‘मैले वास्तविक जीवनमा त्यो अवस्था भोगेको छैन, तर मेरो चरित्रले भोगेको छ । मैले नदेखेको कुरामा आफैंलाई प्रस्तुत गर्दा गाह्रो भएको थियो ।’

आफ्नो चरित्रको बारेमा उनी अगाडि भन्छिन्, ‘जुनकिरी एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवन अगाडि बढाइरहँदा आउने उतारचढावले जुनकिरीमाथि चुनौती थप्छ । त्यो चुनौतीलाई सामना गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले सिनेमा हेर्दा महसुस गर्नुहुनेछ ।’

सिनेमामा आफ्नो चरित्रको दह्रो उपस्थिति रहेको उनको जिकिर छ । समाजमा यस्तो हुनुपर्छ र यसरी गर्नुपर्छ भन्ने कुरालाई आफ्नो चरित्रले बोकेको मिरुनाको बुझाई छ । तर, जुनकिरी चरित्रले समाजसँग भन्दा पनि आफ्नै मूल्य र मान्यतासँग धेरै लड्नु परेको उनी बताउँछिन् । आफूले विश्वास गर्ने कुरा र जुनकिरीको जीवनमा हुने कुरामा धेरै फरक रहेको समेत उनको बुझाई छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । सिनेमामा दयाहाङ र मिरुनाका अलवा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जंग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सिनेमालाई सुशन प्रजापति खिचेका हुन् ।