‘अगस्त्य’बाट के गर्न चाहिरहेछन् नाजिर ?

‘अगस्त्य’बाट के गर्न चाहिरहेछन् नाजिर ?

उनका अनुसार 'अगस्त्य'मा विविधयूक्त भावनाहरुको संगालो छ । यी सबलाई पात्रमा उतार्न नाजिरलाई सजिलो थिएन तर निस्केको परिणामले खुशी भरिदिएको छ । उनी यसमै पुलकित छन् ।

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘अगस्त्य’को एक पोस्टरमा अभिनेता नाजिर हुसेन एकैपटक पाँच फरक गेटअपमा देखियो । यसरी एकैपटक फरकफरक पाँच गेटअप सार्वजनिक भएपछि नाजिरले राम्रै चर्चा बटुले ।

सिनेमामा उनको दमदार उपस्थिति रहने उत्साहजनक अनुमानहरु सार्वजनिक भए । रंगमञ्च हुँदै सिनेमामा आएका नाजिर राम्रा अभिनेता भएको कुरा जगजाहेर नै छ । यस्तोमा पोस्टरका कारण यो प्रकारको उत्साह संचार हुनु स्वभाविक पनि हो ।

टिजर र ट्रेलर रिलिजले त्यो अपेक्षालाई अझ माथि लगेको छ । पर्दामा उनले प्रशस्तै मेहेनत गरेका छन् है भन्ने स्पष्ट देखिन्छ । सिनेमामा पनि यही हुने आशा राखिदै आइएको छ । यो सिनेमाबाट दर्शकलाई त अपेक्षा छँदैछ, नाजिर स्वयं पनि यो सिनेमाबाट धेरै आशावादी छन् ।

नेपाली सिनेप्रेमीमाथी नाजिरले डेब्यू सिनेमा ‘होस्टेल रिटर्न्स’बाट रामेश्वर यादवको परिचय बनाए । त्यसपछि पनि उनी धेरैजसो सिनेमामा मधेशी पात्रमा देखिए । यसमा ‘जंगे’ अहिलेसम्म एउटा अपवाद बनेको छ । नाजिर यो अपवादलाई ‘अगस्त्य’बाट सिलसिलेवार बनाउन चाहन्छन् ।

‘मलाई मधेशी चरित्र मात्र सुहाउँछ वा त्यो मात्र गर्न सक्छ भन्ने भाष्य यसले तोड्छ भन्ने पूर्ण विश्वास छ,’ एक साक्षात्कारमा नाजिरले भने , ‘म अहिलेसम्म रोमान्टिक र कमेडी भूमिकामा बढी देखिएको थिएँ । पहिलोपटक केही फरक काम देख्न पाउनुहुन्छ । मेरो कम संवाद छ । भित्री काम बढी देखिन्छ ।’

उनका अनुसार ‘अगस्त्य’मा विविधयूक्त भावनाहरुको संगालो छ । यी सबलाई पात्रमा उतार्न नाजिरलाई सजिलो थिएन तर निस्केको परिणामले खुशी भरिदिएको छ । उनी यसमै पुलकित छन् ।

‘मेरो चरित्रमा शारीरिक रुपमा त्यस्तो खासै फरक देखिँदैन होला तर त्यो दिइएको परिस्थितिमा फरक जिन्दगी बाँच्नुपर्ने थियो । त्यो चाहिँ मेरो लागि गाह्रो नै थियो।’, उनले भने, ‘यो सिनेमामा फरक-फरक इमोसनमा काम गरेको छु, जुन प्रायः हरेक कलाकारको रहर हुन्छ । एउटै सिनेमामा फरकफरक जिन्दगी बाँचेको छु ।’

टाइपकास्टबाट पर हुन चाहेको भन्ने अर्थलाई अब त्यसता भूमिका नगर्ने भन्ने एकोहोरो सोचमा पनि नाजिर छैनन् । यसका लागि एउटै सर्त छ ।

‘मैले लामो समय फिल्म गरिनँ । जति पनि अफर आए, प्रायःमा मधेशी चरित्र थियो । तर, ‘होस्टेल रिटर्न्स’को रामेश्वर यादवको भन्दा फरक थिएन । मधेशी चरित्रमै यदि फरक हुन्छ भने मलाई काम गर्न समस्या होइन । मात्र त्यो सतहीमा हुनुभएन ।’

अगस्त्य सिनेमाको ड्रिम लाइनअपको अभिन्न हिस्सा नाजिर लामोसमयपछि पर्दामा झुल्किन लागेकाले पनि उनमा उत्साह धेरै छ । उनका यी उत्साहहरुले उनी यो सिनेमाबाट धेरै आशावादी छन् भन्ने देखाउँछ । उनी आफ्नो कामले जस पाउने प्रतिक्षामा छन्। सौरभ चौधरी निर्देशित सिनेमा यही शुक्रबार फागुन १८ गते रिलिज हुँदैछ ।