हरेक सिनेमामा मेरो क्यारेक्टर दमदार र फरक लाग्छ : प्रमोद अग्रहरी

हरेक सिनेमामा मेरो क्यारेक्टर दमदार र फरक लाग्छ : प्रमोद अग्रहरी

द सिनेमा टाइम्स
420
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रमोद अग्रहरी यतिबेला भोली शुक्रबार अर्थात् फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अगस्त्य : च्याप्टर १’को प्रचारसँगै ‘पिताम्बर’को छायांकनमा व्यस्त छन् ।

अभिनेता अग्रहरिले अभिनय गरेको अगस्त्यको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका हरेक सिनेमामा खलपात्रको चरित्रमा देखिँदै आएका प्रमोदले यो सिनेमामा ‘त्रिपाठी’ चरित्रमा आफ्नो भिलेन लुक्स दर्शकलाई देखाउँदैछन् ।

ट्रेलरमा अग्रहरिले बोलेको ‘म आज स्वंयम्, म अन्त्य स्वंयम्, जनम हुँ म, मरण स्वंयम्, निर्माता हुँ, संघार स्वंयम्’ संवाद दर्शकहरूले औधी मन पराएका छन् । प्रमोदका अनुसार सिनेमाको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै हो । अर्थात् सबै कुरा उसकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको इशारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन ।

‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक सिनेमामा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, उनी भन्छन् ।

सिनमाको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोदको बुझाईमा उनले ‘अगस्त्य च्याप्टर १’को जस्तो कथा परासीमा देखेका छैनन् । ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु । मैले त्यो देखेको क्यारेक्टरलाई मात्र सिनेमामा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, प्रमोद बताउँछन् ।

प्रमोदले ‘त्रिपाठी’ क्यारेक्टरका लागि राम्रै तयारी गर्नुपरेको थियो । ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनु भन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफूल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो’, प्रमोद भन्छन् ।

आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छ भन्ने कुरामा प्रमोद विश्वस्त छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ । सामाजिक सञ्जाल होस् वा युट्युबमा आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु । किनभने हामीले बनाउने क्यारेक्टर भनेको हाम्रै वरपर समाजमा देखिने क्यारेक्टर नै हुन् ।’

प्रमोद आफ्ना हरेक चरित्र आफ्ना लागि चुनौतिपूर्ण ठान्छन् । ‘मेरो चरित्र मेरै लागि चुनौतिपूर्ण हुन्छ । त्यसो हुँदा मैले अरुको चरित्रसँग किन चुनौति मान्ने ? यो सिनेमामा रहेका बाँकी कलाकारसँग एकापसमा राम्रै सहकार्य भयो । मलाई लाग्छ यो सिनेमामा एउटा राम्रो काम भएको छ’, उनी भन्छन् ।

प्रमोदको बुझाईमा सिनेमाको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि । मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ वा नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भर पर्छ । ‘अगस्त्य ः च्याप्टर १’ हेरेर निस्कँदा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ ।’

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो सिनेमामा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमामा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।