ग्याङस्टर समाज र वातावरणले बनाउने : अर्पण थापा

ग्याङस्टर समाज र वातावरणले बनाउने : अर्पण थापा

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अर्पण थापा नेपाली सिनेमामा नकारात्मक चरित्रमा रुचाइएका छन् । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’मा पनि उनी खलपात्रको भूमिकामा छन् । उनको चरित्र ग्याङस्टर हो । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् ।

‘रङ्गेली’मा आफ्नो चरित्रबारे उनी भन्छन्, ‘भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको हुन्छ । प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेमा धेरै पावर भइसकेपछि पावरको लेभल बढ्दै जाने हो । त्यसको मात्रा बढ्दै गएपछि राजनीतिक कुरालाई पनि जोड्ने हो । म ‘रङ्गेली’को मुख्य प्रोटागोनिस्ट हुँ ।’

अर्पण आफ्नो चरित्र भगवान् दादालाई टिपिकल भिलेनको रुपमा परिभाषित गर्छन् । ‘मलाई यस्तै क्यारेक्टर मनपर्छ । किनभने यसमा अलिक बढी भेरियसन दिन पाइन्छ । लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन् । तर सिनेमामा मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ । एक तहमा मेरो लुक्स केही फरक छ,’ अर्पणले बताए ।

सिनेमाको तयारी गर्दा अर्पणले धेरैपटक ‘लुक टेस्ट’ गरेका थिए । कुन पहिरन लगाउने भन्ने विषयमा लामो छलफल भएको थियो । तर, लुक टेस्ट गर्दा र सेटमा पुगेपछि उनको लुगामा परिवर्तन गरिएको रहेछ । ‘मैले सेटमा धोती र कालो सट लगाएर पहिलो सट दिएको थिएँ । त्यो लुगा सबैले मन पराएपछि पहिरन परिवर्तन नगर्ने निर्णयमा पुग्यौँ । मेरो चरित्रका लागि चारवटा कोट र पाइन्ट तयार पारिएका थिए । ट्रेलरमा देखिएको कालो र सेतो रङ्गको पहिरनले मेरो चरित्रलाई जस्टिफाई र्गयो,’ अर्पण भन्छन् ।

अर्पणको बुझाईमा कोही पनि ग्याङस्टर बन्दैन । समाज र वातावरणले ग्याङस्टर बनाउने उनको तर्क छ । ग्याङस्टर बन्ने भन्दा पनि बनाउने हो । समाजले अथवा यदि म त्यो वातावरणमा बच्चैदेखि विकसित भइरहेको छु भने त्योभन्दा बाहिर सोच्दिनँ । त्योभन्दा बाहिर बन्ने हैसियत मेरो छैन भने कमजोरीको स्तरले सो बाटोमा ढल्काउँछ ।

यदि त्यो ठाउँमा तपाई विज्ञ भएर बस्नुभयो भने तपाईको विषयमा प्रोफेसन हल्का परिवर्तन गर्न खोज्दा रहेछन्,’ उनी अगाडि भन्छन्, ‘जस्तो कि भगवान् दादा पनि बिस्तारै आफ्नो इमेज छोडेर राजनीतिमा लागे जस्तै वास्तविक जीवनमा ग्याङस्टरले गर्ने त्यही हो । नेपाल होस् वा संसारको कुनै पनि कुनामा होस्, यो चलन नै हो ।’

अर्पण तराईतिरको बसाईमा खासै भिजेका थिएननन् । स्क्रिप्टअनुसार आफूलाई तयार पारेका उनले सेटमा पुगेपछि भने चरित्रमा केही अदलबदल गरेका थिए । उनी सम्झन्छन्, ‘छायांकनमा गएपछि दुईचार वटा कुरा धेरै देखियो । यहाँ यस्तो हुँदो रहेछ भनेर थाहा भयो । यो कुरालाई चाहिँ मान्छेले जिज्ञासाको रूपमा राख्छन् वा यो कुरालाई मान्छेले खासै मतलब पनि गर्दैनन् भन्ने कुरा जोडिन थालेपछि त्यही अनुसार क्यारेक्टरलाई केही अदलबदल चाहिँ र्गयौं ।’

उनलाई ‘रङ्गेली’ आफ्नो विधाअनुसार बनेको सिनेमा मान्छन् । सिनेमाको विधा अनुसार नै कथा बगेको उनको दाबी छ । ‘अक्सर सिनेमामा एउटा विधा भन्छौं, तर त्यसको खिचाई, परिवेश फरक हुन्छ । ‘रङ्गेली’ चाहिँ विधा अनुसार नै कथा बगेको छ । विधा र ठाउँ अनुसारको लुक चाहिने भएकाले त्यही नै एडप्ट गरिएको छ । सिनेमाका साना-साना चरित्र पनि कथा सुहाउँदो र विश्वासिला बनेका छन्,’ उनी सुनिए ।

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।