कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ : पूजा शर्मा

कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ : पूजा शर्मा

‘यो चरित्र निभाइरहँदा कस्तो नराम्रो देखिँदो रहेछ भन्ने पनि भयो । तर कलाकारले जस्तो पनि क्यारेक्टर निभाउनुपर्छ । अहिले पुरुषका लागि बोलिदिने कोही छैनन् । तर नारीका लागि मिडियाहरु यति सहयोगी भइदिए कि उनीहरु मिडियामा खुलेर आफ्नो कुरा राख्न सक्छन्’, उनी भन्छिन् ।

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट रिलिज हुने सिनेमा ‘उपहार’मा अभिनेत्री पूजा शर्मा आफ्नै नामको पात्रको चरित्रमा देखिँदैछिन् । यसअघि उनले अभिनय गरेका सिनेमामा भन्दा फरक चरित्रमा उनलाई दर्शकले हेर्न पाउने छन् ।

‘सिनेमामा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निवार्ह गरेकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ । अहिलेका टिनएजमा भइरहेको घटनालाई ममार्फत देखाएको छु’, पूजा भन्छिन् ।

पूजाको अनुभवमा अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्ने मै छ । ‘उपहारमा पूजाले पनि जस्तो सुकै काम गरेर भएपनि पैसा कमाउनु पर्यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ’, आफ्नो चरित्रबारे पूजा बताउँछिन् ।

पूजाका अनुसार उनीबाहेक धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो । तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन् । अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आइलाग्यो ।

‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ’, पूजाले भनिन् ।

पूजाका अनुभवमा मान्छेहरु सिनेमामा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीहरुले ‘पूजा’ चरित्रलाई अस्वीकार गरे ।

‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ । यो मेरो लागि नयाँ चिज हो भन्ने मलाई भयो । मैले चरित्रमा जोखिम नै मोलेको हो’, पूजा भन्छिन्, ‘तर मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन सहज भयो । किनकी उहाँ मेरा लागि अभिभावक हो र पहिलादेखि पनि सहकार्य गरेकाले सहज भयो ।’

हरेक सिनेमामा सकारात्मक भूमिकामा मात्र देखिने पूजा आफैंलाई पनि नकारात्मक चरित्र मनपर्दैन । ‘यो चरित्र निभाइरहँदा कस्तो नराम्रो देखिँदो रहेछ भन्ने पनि भयो । तर कलाकारले जस्तो पनि क्यारेक्टर निभाउनुपर्छ । अहिले पुरुषका लागि बोलिदिने कोही छैनन् । तर नारीका लागि मिडियाहरु यति सहयोगी भइदिए कि उनीहरु मिडियामा खुलेर आफ्नो कुरा राख्न सक्छन्’, उनी भन्छिन् ।

पूजाका लागि ‘पूजा’ चरित्र उत्तिकै चुनौतिपूर्ण पनि बनेको रहेछ । किनकी यो चरित्रमा उनीबाहेक कोही पनि अभिनेत्रीले काम गर्न चाहेका थिएनन् । ‘यस्तो चरित्र भएको मान्छे समाजमा धेरै देखेको छु । उनीहरुलाई यस्तो काम नगर भनेर सल्लाह पनि दिने गरेकी छु’, उनी भन्छिन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमालाई ज्ञानेन्द्र देउजाको निर्देशन गरेका हुन् । सिनेमामा रेखा, पुजा, मुकुन, बेनिशा, तेज, र समर्पणका अलवा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभरस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।