कानुनको रक्षा इमानदार भएरै गरिनुपर्छ : प्रवीण खतिवडा

कानुनको रक्षा इमानदार भएरै गरिनुपर्छ : प्रवीण खतिवडा

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् फागुन २५ गते महाशिवरात्रीबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’को ट्रेलर सार्वजनिक भएपछि अभिनेता प्रवीण खतिवडाको एक संवाद चर्चित छ । ‘चौंथो काल, मानबहादुर ढकाल’ भन्ने उनको संवाद ट्रेलरमा सशक्त लाग्छ ।

यो संवादले सिनेमामा उनको चरित्र सन्की स्वभावको रहेको देखाउँछ । ‘इन्स्पेक्टर’को भूमिकामा अभिनय गरेका उनी आफ्नो चरित्र फिल्मी शैलीको रहेको बताउँछन् । अनुशासनमा नबस्ने किसिमको पुलिस अफिसरको भूमिका उनले निवार्ह गरेका छन् ।

‘म ‘रङ्गेली’को माहोलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर सिनेमा शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । सिनेम्याटिक हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छ,’ प्रविण भन्छन् ।

उनी प्रहरीको भूमिका निर्वाह गर्दा रमाइलो लागेको स्मरण गर्छन् । तर, सिनेमामा आफ्नो चरित्रजस्तो प्रहरी हुनुहुँदैन भन्ने पक्षमा उनी छन् । ‘कानुनको रक्षा इमानदार भएरै गरिनुपर्छ र यदि कोही रक्षक पनि भक्षक बन्दैछन् भने उसलाई पनि कानुनी दायराभित्र ल्याउनुपर्छ,’ उनी भन्छन् ।

‘रङ्गेली’मा तडकभडक भइरहेको बेलामा त्यसलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा आफूलाई देख्न सकिने उनले बताए । प्रहरीलाई राजनीतिभन्दा अलग राख्न सकेको अवस्थामा मात्र कानुनको रक्षा हुने उनको बुझाई छ । उनलाई लाग्छ, दर्शकले फिल्म हेरिरहँदा आफ्नो चरित्रले केही काम राम्रो गरेछ भन्ने महसुस हुनेछ ।

‘एक दुईवटा काम यसले गलत गरेको छ भन्ने पनि लाग्छ होला । प्रशासनसँग शक्ति हुँदो रहेछ । त्यो शक्तिले कहीँ न कहीँ अलिकति दमनको स्थिति ल्याउँदो रहेछ । चाहे त्यो पात्रलाई होस् वा आफ्नै समाजमा ज्यूँदा पात्रहरूलाई होस् । शक्तिले अलिकति ‘डोमिनेट’ गर्दो रहेछ । त्यो खालको प्रवृत्ति चाहिँ हुनुहुँदैन,’ उनी अगाडि भन्छन्, ‘प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेमा मात्र समाजमा शान्ति सुरक्षा हुन्छ भन्ने मलाई लाग्छ ।’

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।