आम मानिसको भोगाईको कथामा दर्शकले अपनत्व महसुस गर्छन् : ज्ञानेन्द्र देउजा

आम मानिसको भोगाईको कथामा दर्शकले अपनत्व महसुस गर्छन् : ज्ञानेन्द्र देउजा

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंका मेयर बालेन शाहको विरोधमा आगामी शुक्रबार अर्थात् फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘उपहार’ बनेको चर्चा भैरहेको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएपछि यस्तो टिप्पणी भइरहेको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा फुटपाथ व्यापरीहरुमाथि महानगरको धरपकड र डोजरले अनाधिकृत संरचनाहरु भत्काइएको दृश्य समावेश छ । अभिनेत्री रेखा थापाले बोलेको एक संवादले फुटपाथ व्यापारीको समर्थन गरेको पनि देखिन्छ । तर, निर्देशक ज्ञानेन्द्र देउजाले सिनेमाबाट बालेनको विरोध नभइ काठमाडौंको यथार्थतालाई देखाउन खोजेको बताए ।

उनी भन्छन्, ‘सिनेमामा मकैं बेच्नेदेखि चिया बेच्नेसम्मको कथा छ । यो भूइँमान्छेको कथा हो । हरेक पात्रको आफ्नै उद्देश्य छ । अहिले नै सिनेमालाई बालेन विरोधी भन्न हतार नगरौं । सिनेमा रिलिजपछि थाहा हुन्छ । खासमा मैले काठमाडौंको यथार्थतालाई देखाउन खोजेको छु ।’ सिनेमाले समसामयिक विषय उठाउनुपर्छ भन्ने मान्यताले मैले ‘उपहार’ निर्माण गरेको निर्देशक देउजा बताउँछन् ।

‘सिनेमामा समाजको कथा छ । विषय धेरै ठूलो होइन् । देशको राजधानी काठमाडौं उपत्यकालाई एक फन्को लगाउँदा हामीले देख्ने कथाहरुलाई समेटेर मनोरञ्जन पूर्ण सिनेमा निर्माण गरेको छु,’ उनले भने । लामो समयदेखि एउटै किसिमका सिनेमा हेर्दै आएका दर्शकलाई ‘उपहार’ फरक लाग्ने समेत निर्देशक देउजाको बुझाई छ ।

‘कहिले काहीँ खिर खाउँ अनि कहिलेकसो मासुभात पनि खाउँ र कहिले सादा खाना पनि खाउँ भन्ने उद्देश्यले मैले यो विषयवस्तु ल्याएको छु । पछिल्लो समय आएका सिनेमा भन्दा ‘उपहार’को कथा फरक छ,’ उनी भन्छन्, ‘सिनेमा हेरेपछि दर्शक खुसी भएर जानुहुन्छ भन्ने विश्वास छ । सिनेमामा आम मानिसको भोगाईको कथा हुनपर्छ यसपछि मात्रै दर्शकले अपनत्व महसुस गर्छन् ।’

खा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमालाई ज्ञानेन्द्र देउजाको निर्देशन गरेका हुन् । सिनेमामा रेखा, पुजा, मुकुन, बेनिशा, तेज, र समर्पणका अलवा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभरस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।