बक्सअफिसमा अजय, माधवन र ज्योतिका अभिनित ‘शैतान’को शान्दार कमाइ

बक्सअफिसमा अजय, माधवन र ज्योतिका अभिनित ‘शैतान’को शान्दार कमाइ

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘शैतान’ले भारतीय बक्सअफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । बलिउड अभिनेता अजय देवगण, आर माधवन र दक्षिण भारतीय अभिनेत्री ज्योतिका अभिनित सिनेमाले प्रदर्शनको चार दिनमा भारतभरबाट ६२.१३ करोड भारु कमाएको हो ।

विकेन्डमा यति धेरै कमाई गर्ने यो हरर विधाको पहिलो भारतीय सिनेमा भएको जनाइएको छ । विकास बहल निर्देशित सिनेमा हेर्न सोमबार पनि हलमा भीड देखिएको छ । सोमबार बेलुका पनि अकुपेन्सी ५० प्रतिशत रहेको बलिउड मिडियाले जनाएका छन् ।

बलिउड ट्रेड एक्सपर्ट तरण आदर्शका अनुसार सिनेमाले शुक्रबार १५.२१ करोड भारुको ओपनिङ गरेको थियो । शनिबार १९.१८ करोड भारु, आइतबार २०.७४ करोड भारु र सोमबार ७.८१ करोड भारु कलेक्सन गरेको छ । ठूला सहरका मल्टिप्लेक्सदेखि साना सहरका सिंगल स्क्रिनमा समेत सिनेमाले राम्रो कमाइ गरिरहेको छ ।

आम दर्शकले सिनेमालाई रुचाएको विश्लेषक आदर्शले जनाएका छन् । दिल्ली-एनसीआर, मुम्बई र बेंगलुरुमा सिनेमाको व्यापार उच्च छ । पश्चिम बंगाल, ओडिशामा र पूर्वी पञ्जाबमा पनि ‘शैतान’ले दर्शकको राम्रो साथ पाइरहेको छ । ‘शैतान’को लागत बजेट ६०-६५ करोड भारु मात्रै छ ।

यो सिनेमाले पहिलो सोमबार नै लगानी उठाउनेछ । सोमबारदेखि बिहीबारसम्म सिनेमाको कमाइको गतिमा खासै कमी नआउने देखिएको छ । किनकि आगामी बिहीबारसम्म बक्स अफिसमा यो सिनेमाको खास प्रतिस्पर्धी छैन । तर सिद्धार्थ मल्होत्राको ‘योद्धा’ र अदा शर्माको ‘बस्तर : द नक्सल स्टोरी’ आगामी शुक्रबार अर्थात् मार्च १५ रिलिज भएसँगै ‘शैतान’ शो जोगाउने चुनौती थपिनेछ ।

‘शैतान’मा जानकी बडीवाला र अंगद राजको अभिनय छ । अजयले कबीर शेट्टी र आर माधवनले वनराज कश्यपको भूमिका निर्वाह गरेका छन् । यो सिनेमाले कवीरको परिवारको कथा पेश गर्छ । कवीरको परिवार छुट्टी मनाउन फार्महाउस पुगेको हुन्छ ।

अपरिचित वनराज तिनीहरूको घर पुग्छ । ऊ केही मिनेटको लागि पुगेको हो तर घर छोड्न अस्वीकार गर्छ । वनराजले कबीरकी छोरीलाई आफ्नो नियन्त्रणमा लिएर परिवारविरुद्ध हतियार बनाउँछ । यो रोचकतासँगै कथा अघि बढ्छ । जसलाई दर्शकले निकै रुचाएका छन् । यो गुजराती सिनेमा वशको हिन्दी रिमेक हो ।