उस्तैखाले भूमिकाले दिक्क ‘मुन्ना’, पर्खिरहेछन् खतरा मोल्ने निर्देशक

उस्तैखाले भूमिकाले दिक्क ‘मुन्ना’, पर्खिरहेछन् खतरा मोल्ने निर्देशक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘जात्रा’ सिनेमा रिलिज भएपछि ‘मुन्ना’ पात्रबाट अभिनेता रविन्द्र झा नेपाली दर्शकमाझ लोकप्रिय बने। यस सिनेमाबाट प्राप्त लोकप्रियताले उनको व्यस्तता नेपाली सिनेमामा धेरै छ । निरन्तर पाइरहेको कामबाट उनी सन्तुष्ट त छन् तर एक्कै खाले भूमिकाले उनी ‘दिक्क’ पनि छन्।

सोमबार राजधानीमा ‘जात्रा’ सिनेमाको तेश्रो सिक्वल ‘महाजात्रा’ले आयोजना गरेको पत्रकार भेटघाटमा उनले उस्तै खाले भूमिका रहर नभएर बाध्यता भएको गुनासो व्यक्त गरे ।

‘मैले भिलेनदेखि विभिन्न पात्रमा आफूलाई प्रस्तुत गरेको छु । तर, जात्राले दिएको पहिचानलाई अन्य मेकर्सले निरन्तरता दिन खोज्नु भो । मैले अभिनयलाई निरन्तरता दिनु थियो । उनले भने ‘दर्शकले पनि स्वीकार गरिरहनु भएकाले त्यसलाई फरक रुप दिन खोजेर देखिदा केहीमा टाइप कास्ट देखिएँ ।’

आफूमाथि ‘रिस्क’ लिने निर्देशक हुँदा यस्तो भएको उनको बुझाइ छ । सिनेमामा उनको समानन्तर भूमिका रहेका अर्का अभिनेता तथा यस सिनेमाका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले झाको भनाइमा समर्थन जनाए । उनले रविन्द्र झाको भर्सटायल अभिनय क्षमताबाट आफू प्रभावित बनेको र फ्यान नै नभएको बताए । रविन्द्रले आफू चुनौतीपुर्ण भूमिकाका लागि तयार रहेकाले आफूमाथि खतरा मोल्न आग्रह गरे ।

यस्तै ‘महाजात्रा’मा खलनायकको भूमिकामा रहेका वरिष्ठ अभिनेता हरिवंश आचार्यले ‘जात्रा’ सिनेमामा झाले आफ्नो पावरका कारणमात्र सिनेमा खेल्न राजी भएको खुलासा गरे । उनी एन्टिना फाउन्डेसनमा डाइरेक्टर रहेका बखत निर्देशक प्रदिप भट्टराईको आग्रहमा झालाई कार्यालयबाट बिदा मिलाएर सिनेमामा खेलाएको खुलासा गरे ।

रविन्द्रले ‘महाजात्रा’ रमाइलोसँगै संदेशमुलक बनेको उनले बताए । ‘सिनेमाले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । यो सिनेमामा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने, ‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’

सिनेमा चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।  सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा संगीत, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का सिनेमाका मुख्य सहायक निर्देशक हुन् ।