‘मनसरा’ टिजर : छिमेकी लिम्बुनी, बाहुन बाजे अनि एक्लै भौंतारिरहेका दया

‘मनसरा’ टिजर : छिमेकी लिम्बुनी, बाहुन बाजे अनि एक्लै भौंतारिरहेका दया

मनसरा' सिनेमाको टिजर रिलिज भएको छ।सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ।

द सिनेमा टाइम्स
777
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मनसरा’ सिनेमाको टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ ।

सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका ‘बाजे'(प्रविण खतिवडा) र ‘लिम्बुनी'(मिरुना मगर) छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ । टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएकी सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेस गरिएको छ ।

क्लोजअपसटमा उनी लामो समयदेखि कसैको खोजीमा रहेको जस्ता देखिन्छ । टिजरले ‘बाजे’की नेवार्नी श्रीमतीलाई आफ्ना पति छिमेकी ‘लिम्बुनी’सँग नजिक भएको मन नपरेको पनि देखाइएको छ । शहरको छेउमा बस्ने भूईंमान्छेको कथा सिनेमाले पेस गर्ने संकेत टिजरबाट मिल्दछ । टिजरमा कहिकतैं ‘मनसरा’को नाम उच्चारण गरिएको छैन् । सिनेमाले यी चार प्रमुख पात्रको अन्तरसम्बन्धको कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ ।

उपेन्द्र सुब्बा निर्देशित सिनेमाले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको टिजरले देखाउँदछ । यसै वर्षको सुरुवातमा ‘जारी’ बाट ब्लकबस्टर निर्देशन डेब्यू गरेका सुब्बाको यो दोश्रो सिनेमा आशा गर्न लायक सिनेमा हो । टिजरबाट उनले सामान्य मान्छेका सुन्दर कथा पर्दामा पेस गर्दैछन् भनेर बुझ्न कठिन पर्दैन ।

टिजर दर्शकलाई आकर्षित गर्ने खालको छ । यसबाट वैशाख २१ गते एउटा राम्रो सिनेमाको अपेक्षा गर्न सकिन्छ । केही समयपछि रिलिज हुने ट्रेलरबाट यस सिनेमाले थप कौतुहलता निर्माण गर्ने आशा गर्न सकिन्छ । सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ । सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ ।

‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो । पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया-मिरुना पर्छन् ।