‘महाजात्रा’ले ३ दिनमा कमायो ४ करोड २६ लाख ग्रस

‘महाजात्रा’ले ३ दिनमा कमायो ४ करोड २६ लाख ग्रस

आइतबार सिनेमाले देशभरबाट एक करोड २० लाख ग्रस कलेक्सन गरेको छ । सिनेमाले ३ दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन गरेको हो ।

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘महाजात्रा’ले तेस्रो दिन आइतबार पनि बम्पर व्यापार गरेको छ । पहिलो दिन भन्दा दोस्रो दिन धेरै कलेक्सन गरेको थियो । तेस्रो दिन पनि महाजात्रले पहिलो दिनको बराबर व्यापार गरेको हो ।

आइतबार परेको फागु पूर्णिमा अर्थात् होलीको बिदाको फाइदा सिनेमाले उठाएको छ । आइतबार सिनेमाले देशभरबाट एक करोड २० लाख ग्रस कलेक्सन गरेको छ । सिनेमाले ३ दिनमा चार करोड २६ लाख ग्रस कलेक्सन गरेको हो । आज सोमबार पनि तराईमा होली विदा भएकाले त्यसको फाइदा सिनेमाको व्यापारमा देखिने विश्वास निर्माण टिमलाई छ ।

शुक्रबार यो सिनेमाले एक करोड २३ लाख र दोस्रो दिन एक करोड ८३ लाख कलेक्सन गरेको थियो । सिनेमाले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा देशभर हाउसफुलका साथ चलिरहेको छ । दर्शकले आफूले चाहेको हलमा चाहेको समयमा सिनेमा हेर्न नपाउने अवस्था देखिएको थियो ।

सिनेमाले देशभर नै हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ । आज सोमबारका पनि धेरै शो फिलिङ फाष्टमा गएका छन् । ‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै सिनेमाको मुख्य कथा हो ।

सिनेमामा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, दिव्य देब, राजाराम पौडेललगायत कलाकार मुख्यभूमिकामा छन् । ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो । रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल छन् ।