दाजुको सिनेमामा रोल नपाएपछि रिसाए अनिल कपुर, किन पाएनन् त रोल ?

दाजुको सिनेमामा रोल नपाएपछि रिसाए अनिल कपुर, किन पाएनन् त रोल ?

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आफ्ना दाजु बोनी कपुर निर्माता रहेको र आफूलेसमेत अभिनय गरेको सिनेमाको सिक्वलमा रोल नपाएपछि बलिउड अभिनेता अनिल कपुर दाजुसँग रिसाएका छन् । यसको खुलासा स्वयम् अनिलका दाजु बोनी कपुरले गरेका हुन् ।

अनिल ‘नो एन्ट्री’को सिक्वलमा रोल नदिएका कारण रिसाएका हुन् । यो सिनेमामा बोनीले अघिल्ला श्रृखंलाका कुनै पनि कलाकारलाई नलिइ नयाँ पुस्ताका कलाकारलाई कास्ट गरेका छन् । ‘नो एन्ट्री’मा सलमान खान, अनिल कपुर, फरदिन खान, ईशा देवल, विपासा बसु, लारा दत्ता तथा सेलिना जेटली लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।

तर सिक्वलमा बोनीले वरुण धवन, अर्जुन कपुर तथा दिलजित दोसाँझलाई सिनेमाको प्रमुख कलाकारका रुपमा अनुबन्धित गरेका छन् । अनिल दाजुको यही कास्टिङका कारण रिसाएका हुन् । उनको चाहाना यो सिनेमामा कुनै न कुनै भूमिका आफ्ना लागि होस् भन्ने चाहन्थे तर कथावस्तुले त्यो सम्भव हुन सकेन ।

सिनेमामा आफू नहुनेभएपछि आजकल आफुसँग अनिलले राम्रोसँग कुरा गर्न छोडेको र रिसाएको बोनीको गुनासो छ । उनले अनिललाई सम्झाउन चाहेको भएपनि समय अगावै आफ्नो नयाँ कास्टिङ सार्वजनिक भएकाले आफूले सम्झाउने अवसर नपाएको बोनीको भनाइ छ ।

‘वरुण र अर्जुन राम्रा साथी हुन् । कथामा उनीहरुको केमिस्ट्री देखिनेछ । दिलजीत झनै राम्रा छन् । उनका फ्यानहरु धेरै छन् । म यो सिनेमा आजको समयलाई जोडेर बनाउन चाहन्थे । यही कारण मैले उनीहरुलाई कास्टिङ गरे । यही कुरामा मेरो भाइ आज पनि मसँग राम्रोसँग बोल्दैन । मलाई आशा छ यसको समाधान हुनेछ । हेर्दै जाउ के हुन्छ ?’, बोनीले भने ।

भारतीय संचारमाध्यमका अनुसार सिनेमाको छायाँकन यसै वर्षको अन्त्यमा हुनेछ र आगामी वर्ष रिलिज हुनेछ ।