प्रतिक्षित बन्दै ‘डिग्री माइला’दर्शकको मूल्यांकन : दयाहाङ+रामबाबु = मास्टरपिस सिनेमा

प्रतिक्षित बन्दै ‘डिग्री माइला’दर्शकको मूल्यांकन : दयाहाङ+रामबाबु = मास्टरपिस सिनेमा

द सिनेमा टाइम्स
812
Shares

द सिनेमा टाइम्स,काठमाडौं । रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’मा एउटा डाइलग छ – अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु । सिनेमाका मुख्य कलाकार दयाहाङ राईको यो डाइलगले पछिल्लो समयको यथार्थ बोल्छ । अर्थात् अहिलेको संसारमा अनुहार होइन क्षमताको कदर हुन्छ ।  हुन पनि हो ।

त्यसैले त यो सिनेमामा रामबाबुले अहिले नेपाली सिनेमा उद्योगमा चलेको दयाहाङ राई र मिरुना मगरको जोडीलाई छोडे । दयाहाङलाई आँचल शर्मासँग अनस्क्रिन जोडी बाँधिदिए । अरु निर्माता निर्देशकले दयाहाङ र मिरुनाको जोडी बजारमा बिकाइरहेका बेला रामबाबुले आँचल शर्मालाई रोजे ।

त्यो त रामबाबु तिनै निर्देशक हुन् जसले मिरुना र दयाहाङलाई पहिलो पटक एकसाथ सिनेमामा खेलाएका थिए । यो जोडी हिट भएको थियो । त्यसैले त ‘डिग्री माइला’को ट्रेलरमा सुवास बस्नेत नाम गरेका एक फेसबुक प्रयोगकर्ता लेख्छन्- दयाहाङको विपक्षीमा मिरुना मगर नराख्नु नै अलिक नौलो लाग्यो यस सिनेमामा ठूलै हिम्मत लिएको हो । यो सिनेमामा दयाहाङ र आँचलको जोडी धेरैले मन पराएका छन् ।

धेरैजसो कमर्सियल सिनेमामा देखिने आँचलको अभिनय दर्शकले मन पराइरहेका छन् । यस्तै प्रतिक्रिया यो ट्रेलर मार्फत् आइरहेको छ । सानुमाया नामक गरेका फेसबुक प्रयोगकर्ता ट्रेलरमा आएर कमेन्ट लेख्छन्- कति राम्रो देखिएको आँचल र दयाको जोडी । अरु सिनेमामा पनि हेर्न पाउँ ।

नेपाली सिनेमा उद्योगमा अहिले केही समय अगाडि फरक धार भनिएका सिनेमा मूलधारका भइसकेका छन् । मौलिक कथाबस्तु उठान गर्दै आफ्नै कथ्यशैली प्रयोग गर्ने र बक्स अफिसमा हिट सिनेमा दिन माहिर निर्देशक हुन्, रामाबाबु गुरुङ । यो आम दर्शकले गरेको मूल्यांकन हो । यसलाई रामाबाबुका सिनेमामा आएका कमेन्ट र उनका सिनेमाले गरेको कलेक्सन रिपोर्टले प्रस्तुत गर्छ ।

दीपेन्द्र मगर नाम गरेका फेसबुक प्रयोगकर्ताकर्ताले ‘डिग्री माइलाको ट्रेलर’मा गरेको कमेन्ट यस्तै छ, उनी लेख्छन्- फरक शैलीसँग नयाँ जोडीको आगमन, आहा ! भिन्दै कथाबस्तु, उत्कृष्ट अभिनय । साथै २०८१ मा फेरि पनि यस सिनेमाले उच्च स्थानको ठाउँ मिलोस् । नेपाली सिनेमा उद्योगमा निर्देशक रामबाबु गुरुङ र कलाकार दयाहाङ राईको टिमलाई सफल टिमका रुपमा लिइन्छ । कारण यो टिमले नेपाली सिनेमा उद्योगलाई ब्याक टु ब्याक हिट सिनेमा दिइरहेको छ ।

‘कबड्डी’ सिरिज होस् वा त्यसबाहिरका अन्य सिनेमा हुन्, रामबाबु र दयाहाङले सँगै गरेका सिनेमा हिट भएका छन् । यसलाई सिनेमा उद्योगले मात्रै होइन । दर्शकले पनि नजिकबाट नियालिरहेका छन् । त्यसैले त ‘डिग्री माइला’को ट्रेलरमा आएर एकालीहोरा नामको फेसबुक आइडीबाट कमेन्ट गरिएको छ- दयाहाङ राई प्लस रामबाबु गुरुङ इजइक्वेल टु मास्टरपिस सिनेमा ।

रामबाबु गुरुङ, दयाहाङ राई, विजय बराल, बुद्धि तामाङको टिम नेपाली सिनेमा उद्योगमा फापेको टिम हो । जसले हरेक वर्ष नेपाली सिनेमा उद्योगलाई हिट सिनेमा दिँदै आएको छ । दयाहाङ राईले केही वर्ष अगाडि निर्देशन गरेको ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा बनेको छ । सिनेमाले बेरोजगारीको कथा पस्किने निर्माण पक्षले बताएको छ ।

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको छ । दयाहाङ र आँचलसँगै सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहने छ । सिनेमामा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ ।ऋचा ट्रेलरमा पनि समेटिएकी छन् ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले ट्यागलाइन बनाएको छ । यसको अर्थ व्यक्तिको अहमताले स्वयं उसैलाई क्षति गर्छ भन्ने हो । चैत ३० गते रिलिज हुने सिनेमाको निर्मातामा विशाल गरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् ।

‘डिग्री माइला वर्षको अंतिममा प्रदर्शन हुने  प्रतिक्षित सिनेमा हो  निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई दुईक्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका छन् ।