‘डिग्री माइला’ले पायो उच्च शो, दुई दिनमा ५ करोडमाथि कमाउने वितरकको अनुमान

‘डिग्री माइला’ले पायो उच्च शो, दुई दिनमा ५ करोडमाथि कमाउने वितरकको अनुमान

द सिनेमा टाइम्स
3.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्षकै प्रतिक्षित सिनेमा ‘डिग्री माइला’ले वक्सअफिसमा सुनामी ल्याउने संकेत गरेको छ । सिनेमाका लागि आज सिनेमाघरहरुले दिएको शो संख्याले यस्तो संकेत दिएको हो ।

नेपाली सिनेमाप्रति खासै अनुग्रहित नहुने हलहरुमा रामबाबु गुरुङ निर्देशित सिनेमाले उच्च संख्यामा शो पाएको छ । बुधबार यो समाचार तयार पर्दासम्म दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ले देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशबर ९७ शो पाएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ । यसमा अझ शो संख्या थपिने अनुमान छ।

हालसम्म सिनेमाले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ । सिनेमाका वितरक गोविन्द शाहीले सिनेमाले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए ।

शाहीका अनुसार सिनेमाले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढिको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए । यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ले रिलिजको पहिलो शनिबार ३ कोरड बढिको व्यापार गरेको बताउँदै सिनेमाको हाइप अनुसार यो आँकडा अनुमान गरिएको बताए ।

ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । वर्षको सुरुवातमा ‘जारी’ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ले पनि सुखद् अन्त्य दिने रुझान देखाएको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।