‘डिग्री माइला’को देशैभर आक्रमक व्यापार

‘डिग्री माइला’को देशैभर आक्रमक व्यापार

द सिनेमा टाइम्स
12.8k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले देशैभर आक्रमक सुरुवात गरेको छ । शुक्रवार बिहानी शोमा औषत सुरुवात गरेको सिनेमाले मध्यान्हबाट हाउसफुल व्यापार गरिरहेको जानकारी वितरक गोबिन्द शाहीले दिएका छन् ।

आज शनिबार भने बिहानैदेखि दर्शकहरु हलमा ओइरिएका छन् । प्राय: सबै शोहरु बिहानैदेखि हाउसफूल भएको शाहीको भनाइ छ । बुकिङको अनुपात हेर्दा देशैभर सिनेमाले हाउसफूलको व्यापार गर्ने निश्चित छ । सिनेमाहलहरुले ‘डिग्री माइला’लाई राति ११:४५ सम्मको शो उपलब्ध गराएका छन् । अधिकाशंमा शोमा आक्रमक रुपमा टिकटहरु विक्री भइरहेका छन् । केही सिनेमाहलले शोसमेत थपेका छन् ।

सिनेमाप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् । आज अभिनेता दयाहाङको जन्मदिनसमेत परेकाले उनका लागि यो जन्मदिनको उपहारसरी भएको छ ।

गत वर्ष वैशाख १ गते रिलिज भएको दयाको ‘जारी’ले यस्तै साथ दर्शकबाट पाएको थियो । दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन १० बजे बिग मुभिज कमलपोखरी पुगेका दयालाई हलमै एक्कै स्वरमा जन्मदिनको शुभकामना दिएका थिए । अभिनेता दयाले दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका थिए ।

सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्। रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ।

टिजर तथा ट्रेलर रिलिजदेखि नै दर्शकका लागि प्रतिक्षित बनेको यो सिनेमाले पाएको प्रतिक्रियाबाट निर्माणपक्ष खुशी देखिएको छ। पर्दामा यसपटक पनि दया र रामबाबुको जोडीले आफूलाई प्रमाणित गरेको वितरक तथा हलवालाको भनाइ छ । सिनेमामा दयाका अलावा आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।