यस्तो छ ‘डिग्री माइला’ले तीन दिनको कमाइ

यस्तो छ ‘डिग्री माइला’ले तीन दिनको कमाइ

द सिनेमा टाइम्स
1.5k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वक्सअफिसमा ‘डिग्री माइला’ले आक्रमक व्यापार गरेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ रिलिजको तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

तेश्रो दिनमा सिनेमाले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।

‘अन्तिम हिसाब दिउँसो आउँछ तर प्रारम्भिक रिपोट अनुसार सिनेमाको तेश्रो दिनको कमाइ ६५-७० लाख छ’ शाहीले भने । सिनेमाले रिलिजको पहिलो दिन ९८ लाख र दोश्रो दिन शनिबार २ करोड ८ लाख कमाइ गरेको थियो ।

तीन दिनमा सिनेमाको कुल कमाइ ३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । ‘सिनेमा मजाले जान्छ दर्शकले सिनेमा मनपराइरहनु भएको छ । ५ गते चैते दशैंमा सिनेमाले अझ राम्रो व्यापार गर्छ । हलहलमा गएर बुझेको दर्शक प्रतिक्रियाले सिनेमाले कमाइ राम्रो गर्ने देखाएको छ’, उनले भने ।

सिनेमाको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।

सिनेमाले आफ्नो डिग्रीको अहमताले भरिएको माइला पात्र र ऊप्रति समाजको अपेक्षाको सेरोफेरोको कथा पेस गर्छ। सिनेमाको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, सुष्मा गुरुङ र मधु मिजार छन् भने कार्यकारी निर्माता भने क्रिश लामा हुन् । शिवराम श्रेष्ठ र राइली एस शिनले सिनेमाको छायांकन गरेका हुन् ।