‘खजुरे ब्रो’ मार्फत् मास अडियन्ससम्म पुग्नेमा आशावादी महेश

‘खजुरे ब्रो’ मार्फत् मास अडियन्ससम्म पुग्नेमा आशावादी महेश

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एकसमय नेपालका मूल संचारमाध्यम ‘फुच्चे वैज्ञानिक’ बनेर छाएका महेश त्रिपाठीलाई अन्त्यमा सिनेमा अभिनयले आफ्नो बनायो ।

इन्जिनियरिङको पढाइ छोडेर रंगीन दुनियाँमा आएका महेश ‘हल्कारा : द पोस्टम्यान’बाट अमेरिकी सिनेमा महोत्सव वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनको लोकप्रियता फराकिलो बनेको थियो ।

यो सिनेमा महोत्सवको प्रतिष्पर्धामा ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती सिनेमा ‘फेरी म्यान’बाट ओलिभिर ली महेशसँग प्रतिष्पर्धामा थिए । यी दुबैलाई पाखा लगाउँदै उनले बाजी मारेका थिए ।

अभिनयका गुरुसमेत रहेका महेश सिनेमाको व्यवसायिक सफलताको प्रतिक्षामा छन् । ‘खजुरे ब्रो’को बारेमा कुराकानी गर्दा उनले आफ्नो यस्तो इच्छा सार्वजनिक गरेका थिए । ‘करियरका हिसाबले मास अडियन्समा जानु छ र अलिकति व्यवसायिक सफलता प्राप्त गर्न मन छ, त्यो मलाई आवश्यक छ’, उनले भने ।

‘खजुरे ब्रो’को प्रचारको धपेडीका बिच नै एउटा सिनेमाको तयारी गरिरहेका छन् । यही सिनेमाका लागि उनले ४ वटा सिनेमा छाडिदिए । उनी अगाडी भन्छन् – कामको हिसाबले मलाई समस्या छैन । छानेर गर्नुपर्ने अवस्था छ अहिले । म अर्को सिनेमाको तयारीमा छु अहिले । यो सिनेमाको तयारीका लागि मैले अर्को चार वटा सिनेमा छोड्नु परेको छ । कामको हिसाबले ठिक छ । क्रिटिक्ली पनि राम्रो एप्रिसिएसन मिलिरहेको छ । अन्तर्राष्ट्रिय अवार्डदेखि यहाँको माहोलमा कामको तारिफ सबै मिलिरहेको छ ।

‘हल्कारा’बाट क्लासमा चिनिएका महेश अब मासमा जान चाहन्छन् । अभिनेताका हिसाबले उनको मापन ‘हल्कारा’को मानकबाट सुरु हुने बुझेका छन् । ‘हल्कारा’ले एउटा क्लास अडियन्समा मेरो प्रभाव बनाएको छ । एउटा राम्रो एक्टरको इमेज बनाएको छ । मैले गर्ने काममा त्यही अनुसारको आशा राख्नुहुन्छ’, उनले अभिनेताका रुपमा दर्शकको अपेक्षा सम्झिदैं भने ।

‘खजुरे ब्रो’मा उनी शीर्ष पात्रको भूमिकामा छन् । सिनेमालाई लिएर उनको आशा राम्रो छ । उनको बुझाइमा यो सिनेमा पर्दामा ‘लार्जर देन लाइफ’ भन्दा पनि ‘रअ’ पात्र र कथा खोज्नेहरुको सिनेमा हो । सिनेमाले यी दर्शकहरुको अपेक्षा पूरा गर्छ । सिनेमाले मनोरञ्जन दिन्छ भन्नेमा उनी ढुक्क छन् । निर्देशकको भिजनमा आफू खरो उत्रने प्रयास गरेको महेश बताउँछन् ।

‘अभिनेताले गर्नुपर्ने धर्म अनुसार मैले यसमा गर्नसक्ने चिजहरु गरेको छु । निर्देशकले कस्तो चाहनुभएको छ मबाट, त्यो चिज मैले निर्देशकलाई दिने प्रयास गरेको छु’, उनले भने, ‘अन्तिम कुरा सिनेमा आएपछि थाहा हुन्छ तर निराशचाँहि हुनुपर्दैन । निश्चित रुपमा ‘हल्कारा’ र ‘खजुरे ब्रो’का पात्रहरु फरक प्रकार र भूगोलका पात्रहरु हुन् । म आफू भन्दा पनि भिन्न छन् । त्यो हिसाबले दर्शकलाई नयाँ स्वाद हुन्छ ।’

पश्चिम नेपालको गण्डकीका रैथाने महेशलाई पूर्वी नेपालको पात्रमा ढल्न स्वभाविक रुपमा तयारी गर्नुपर्यो । स्वयं अभिनयका गुरुहरु भएकाले उनी सो ढलाईका प्रक्रियाहरुसँग जानकार नै थिए । उनले यसका लागि २/३ महिनाको समय लगाएको बताए । उनले चरित्रको अध्ययन गरेर पात्र गरे यध्यपी व्यक्तिगत हिसाबले उनलाई गाह्र्रो चाँहि भयो ।

‘बाह्यरुपमा हेर्दा शारिरिक हाउभाउ र बोल्ने भाषाको कुरा छ । त्यो सिक्ने नै हो । त्यहाँका लवज, स्ल्यांगहरु के-के हो, त्योसँग परिचित नै हुने हो । त्यहीँका मान्छेहरुसँग कुराकानी गर्ने । अनि शारिरिक हाउभाउ त त्यो चरित्रलाई अध्ययन गर्दै यसरी गर्ने भन्दै जोड्दै बनाउने हो’, उनले भने, ‘अर्को छ मनोवैज्ञानिक पक्ष, त्यो कथा बुझेर नै हुन्छ । त्यसका लागि लेखक/निर्देशकसँग बसेर उनीहरुले त्यो पात्रलाई कसरी देखेका छन् त्यसमा छलफल गरेर उनीहरुको दृष्टिकोण बुझेर गर्ने हो । यसमा उसको ब्याकस्टोरी, जीवन यात्रा र जीवन उदेश्यका आधारमा बनाइन्छ ।’

उनले सिनेमा पूरा हेर्न पाएका छैनन् । त्यसैले सिनेमामा कस्तो काम गरें भन्ने मूल्यांकन आफूले गरिनसकेको बताए । सिनेमामा कस्तो पात्रका रुपमा छन् त महेश ? ‘धरानमा हुर्केको एउटा डानामिक चरित्र छ’, उनले भने ।

सुरज सुनुवार निर्देशित सिनेमाले युवा दर्शकलाई तान्ने उनको बुझाई छ । सिनेमामा उनका अलवा रेयर राई, नीति शाह, नविन मानन्धर लगायत मुख्ख भूमिकामा छन् । प्रेम, पैसा र सहकारी ठगीको वरीपरि घुमेको सिनेमाको व्यवसायिक सफलता प्राप्त गर्दै आफूलाई मासमा लैजाओस् भन्ने प्रतिक्षामा महेश रहेका छन् । सिनेमा बैशाख २८ गते रिलिज हुँदैछ ।