मैत बहादुर बन्नका लागि कपडादेखि लवजसम्ममा काम गरेको थिएँ : प्रदीप खड्का

मैत बहादुर बन्नका लागि कपडादेखि लवजसम्ममा काम गरेको थिएँ : प्रदीप खड्का

रोमान्टिक हिरोको छवि बनाएका प्रदीपले अहिले आफूलाई भर्सटायल अभिनेताको रुपमा चिनाएका छन् । त्यसको सुरुवात उनले ‘प्रकाश’बाट गरेका थिए ।

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनी अहिले जेष्ठ १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पुजार सार्की’को प्रचारमा व्यस्त छन् । त्यसका साथै उनको नै मुख्य भुमिका रहेको सिनेमा ‘एक्टर’को छायांकन पनि गरिरहेका छन् ।

उनी ‘पुजार सार्की’को प्रचारको लागि ‘एक्टर’को छायांकनबाट समय निकालेर काठमाडौंमा छन् । अहिले उनी विभिन्न मिडियमा पुगेर सिनेमामा आफुले निवार्ह गरेको मैत बहादुर चरित्र र सिनेमा कथावस्तुको बारेमा दर्शकलाई बुझाई रहेका छन् ।

प्रदीप भन्छन्- ‘हामी कलाकारले हरेक भूमिकालाई निर्वाह गर्न उत्तिकै मेहनत गरिरहेका हुन्छौँ, त्यो रिजल्टले मात्र देखिन्छ । हाम्रो काम राम्रो भयो भने मेहनतको सोधखोज हुन्छ नत्र त्यो मेहनतमै सिमित हुन्छ । मैत बहादुरका लागि आवश्यक र तयारी गरेको थिएँ । कपडादेखि लवजसम्ममा काम गरेको थिएँ । जसलाई सिनेमाप्रेमी दर्शकले नोटिस गरिदिनु भएकाले केही हदसम्म सफल भएको अनुभव गरेको छु ।’

अहिले प्रदीपको हातमा आधा दर्जन बढि सिनेमा छन् । जसले गर्दा उनलाई सिनेमाको प्रचार र छायांकनको लागि समय मिलाउन समेत हम्मेहम्मे परेको छ । यसमा उनी भन्छन्, ‘वर्षमा ३/४ वटा सिनेमा गर्दा कस्तो आउटपुट आउँछ भन्ने हेर्न खोजेको हुँ । ४ वर्षमा एउटा गर्दा र वर्षमा ३/४ वटा गर्दा एउटै भयो भने त यो नै राम्रो हो नि ।’

उनी ४ वर्षमा एउटा सिनेमा गर्नु र एक वर्षमा ४ वटा सिनेमामा काम गर्न लाग्नुलाई आफ्नै निर्णय मान्छन् । उनी यो निर्णयलाई आफ्ना करियरको परीक्षण मान्छन् । ‘पहिला मैले एउटा तरिकाले काम गरेँ । अब एकदमै बिजी भएर हेरम् न भन्ने भएको हो । मेरो क्षमता कति रहेछ र कति काम गर्न सक्ने रहेछु भनेर परीक्षण गर्दैछु,’ उनले भने ।

नेपाली सिनेमा क्षेत्रमा प्रदीपलाई महंगा अभिनेताको रुपमा चिन्ने गरिन्छ । आफूले अहिलेसम्म धेरै पैसा डिमान्ड नै नगरेको दाबी उनको छ । तरपनि पहिलाको तुलनामा अहिले निर्माताबाट आफुलाई धेरै राम्रो पारिश्रमिक मिल्ने गरेको उनी बताउँछन् ।

रोमान्टिक हिरोको छवि बनाएका प्रदीपले अहिले आफूलाई भर्सटायल अभिनेताको रुपमा चिनाएका छन् । त्यसको सुरुवात उनले ‘प्रकाश’बाट गरेका थिए । यो सिनेमाबाट आफुलाई फरक चरित्रमा पनि काम गर्न सक्ने अभिनेताको रुपमा चिनाएका थिए ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

राष्ट्रिय अवार्ड विजेता निर्देशक दिनेश राउतले निर्देशित सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए । सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । यो सिनेमालाई नेपालमा आरआर फिल्मस् र विदेशमा एमएसएमले वितरण गर्दैछन् ।