‘पुजार सार्की’मा अभिनय गर्दा अन्तरजातिय प्रेम निकै गाह्रो हुने महसुस गरेँ : परिक्षा लिम्बु

‘पुजार सार्की’मा अभिनय गर्दा अन्तरजातिय प्रेम निकै गाह्रो हुने महसुस गरेँ : परिक्षा लिम्बु

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री परीक्षा लिम्बु आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमा ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत मुख्य भूमिकामा पर्दामा आउँदैछिन् । यसअघि ‘जारी’ र ‘छक्का पञ्जा ४’ मा सहायक भूमिकामा देखिएकी थिइन् ।

उनले यो सिनेमामा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह जस्ता कलाकारसँग स्क्रिन सेयर गरेकी छन् । विकास विकास सुवेदीको लेखन रहेको सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमामा परिक्षासँगै अञ्जना बराइलीको पनि मुख्य भुमिका रहेको छ ।

सिनेमाको ट्रेलर र गीतमा देखिएको उनको अभिनयबाट दर्शकमाझ पनि उनले राम्रो छाप छोड्न सफल देखिएकी छन् । परीक्षा सिनेमामा अडिसनबाट छानिएकी थिइन् । ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ । मलाई चिन्नु हुनेले सिनेमाको अडिसन खुलेकाले प्रयास गर्न भनेका थिए । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । म सिनेमामा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन् ।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण परीक्षालाई सिनेमामा काम गर्ने वा नगर्ने भन्ने अन्योल सिर्जना भएको थियो । यसको लागि सिनेमाको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो । सिनेमाको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भएकी थिइन् ।

सिनेमामा परिक्षाले ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिएकी छन् । प्रदीपसँग उनको यो पहिलो सहकार्य हो । ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन् ।

सिनेमामा प्रदीपका अलवा आर्यन सिग्देल र पल शाह मुख्य भूमिकामा रहेकाले परीक्षालाई तीन सफल कलाकारसँग सहकार्य गरिरहँदा के होला भन्ने लागेको बताउँछिन् । ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो । तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन् ।

सिनेमामा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन् । ‘सिनेमामा म मगर समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । प्रेम गर्ने जोडीलाई झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो क्यारेक्टर भएर महसुस गर्न पाएँ । जुन रियल लाइफमा महसुस गर्न पाएको छैन । त्यो अनुभवका लागि म भाग्यमानी पनि छु ।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको । परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ । ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ । किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु । मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो । म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो’, परीक्षाले बताइन् ।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन् । ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ । मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो । तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मिठो खाने कुरा खान पाए जस्तै भयो’, परीक्षा भन्छिन्, ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ । ‘पुजार सार्की’मा भने ती सिकेका कुरा लागु गर्ने कोसिस गरेकी छु । तीन वटै सिनेमाको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ ।’

राम्रो सिनेमा बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्छ । परीक्षाको बुझाई पनि त्यही हो । परीक्षाको अनुभवमा निर्देशकसँग कलाकार केही डराउनु नै पर्छ । ‘त्यो डर भनेको निर्देशकप्रतिको सम्मान हो । आफूले निभाएको चरित्रले न्याय दिन सक्यो सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो वा सकिएन भनेर केही डराउनु पनि पर्छ’, परीक्षा भन्छिन् ।

परीक्षालाई ‘पुजार सार्की’बाट ठुलो आशा छ । ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो । अहिलेका मानिसलाई जातीय विभेद गर्नु हुँदैन भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ । त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो’, उनी भन्छिन् ।