‘फर्की फर्की’ हाम्रो पुस्ताको कथा हो : जसिता गुरुङ

‘फर्की फर्की’ हाम्रो पुस्ताको कथा हो : जसिता गुरुङ

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री जसिता गुरुङ यतिवेला जेठको १० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फर्की फर्की’को प्रचारमा व्यस्त छिन् । विभिन्न मिडियासँगको कुराकानीमा यो सिनेमा सबै दर्शकका लागि भएको बताएकी छन् ।

सिनेमाको विषय युवापुस्ता र उनीहरुको प्रेममा केन्द्रीत भएता पनि यो कथाले सबैलाई आकर्षित गर्ने उनी बताउँछिन् । ‘यो हाम्रो पुस्ताको कथा हो । यद्यपि हाम्रो पुस्ताको प्रेम, त्यसमा आउने समस्या र अभिभावकलाई बुझ्न पनि सिनेमाले मदत गर्छ । यो परिवारले हेर्न मिल्ने रोम-कोम जनरामा निर्माण भएको छ’, अभिनेत्री गुरुङले भनिन् ।

जसिताले सिनेमामा ‘मिक्सोलोजिस्ट’को भूमिका निर्वाह गरेकी छिन् । उनि लन्डनबाट नेपाल फर्किएर आफ्नै काम रमाईरहेकी हुन्छिन् । त्यहि क्रममा म्याडीको भूमिकामा रहेका अनमोल केसीसँग भेट भएपछि बस्ने प्रेम र त्यसमा आउने उतारचढावलाई सिनेमामा प्रस्तुत गरिएको छ । ‘अहिलेका युवाको प्रेम र भावनात्मक सम्बन्धलाई देखाउने कोशिस छ । पर्दा भित्रको कथाले पर्दा बाहिरका दर्शकलाई छुन्छ जस्तो लाग्छ’, उनले भनिन् ।

सिनेमामा उनी अनमोलको जोडीको रुपमा प्रस्तुत छिन् । अनमोलसँग उनको यो पहिलो सिनेमा हो । ‘सिनेमाको कन्सेप्ट आउँदा म उत्साहित थिएँ । अनमोलसँग काम गर्न पाउँदा झन् खुसी भए’, उनले भनिन् ‘यो सिनेमा अघि पनि एक सिनेमाका लागि अनमोलसँग काम गर्न अनुबन्धित भएकी थिएँ । तर सिनेमा बनेन् । ‘फर्की फर्की’मा अनमोलसँग जोडी बन्न लेखिएको रहेछ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।’

सुयोग गुरुङले लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।