नेपालमा छायांकन भएको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनसँगै किम्फ सुरु

नेपालमा छायांकन भएको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनसँगै किम्फ सुरु

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ) सुरु भएको छ । ‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबीचको आत्मीय सम्बन्धको कथा हो।

भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रम नजिकैको जंगलबाट बाघको बच्चाको शिकारीबाट उद्दार गर्छन् । त्यसपछि रोचक र अनौठो ढंगले यी दुईबीच मित्रता गाँसिन्छ । यो मित्रतापछि उनीहरु हिमालय मुनिको रोमाञ्चक यात्रामा निस्कन्छन् । तर उनीहरुको पछिपछि शिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोह अवरोह ल्याइदिन्छ ।

सिनेमाको कथा बौद्धधर्मको एउटा किंवदन्तीमा आधारित छ । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यो सिनेमामा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ । नेपालमा छायांकन भएको यो सिनेमामा नेपाली कलाकारहरु लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ । १ घन्टा ३४ मिनेटको ‘द टाइगर्स नेस्ट’ शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ ।

सिनेमा प्रदर्शनअघि भएको उद्घाटन समारोहमा किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तनको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन् । किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटिटीको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ परिवर्तनहरु आत्मसात गर्दै अघि बढेको उल्लेख गरिन् । उनले भनिन्, ‘किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दाहरु र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ।’

काठमाडौं महानगरपालिकाका प्रतिनिधि प्रदिप परियारले महानगरपालिका ‘किम्फ’को सह-आयोजक भएकोमा खुसी व्यक्त गर्दै भने, सिनेमा नेपाली कला संस्कृतिलाई विश्वअवसरमा पुर्याउने माध्यम हो र किम्फले त्यो अवसर प्रदान गरेको छ।’

लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा किनोट स्पिच दिएका थिए । आफू ४५ वर्ष अघि पहिलो पटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको बताउँदै उनले भने, ‘नेपालीको हाँसो भने जस्ताको तस्तै छ ।’ मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको बताउँदै उनले सगरमाथा दिवसकै सन्दर्भ जोडेर किम्फ आयोजना हुनु अर्थपूर्ण रहेकोमा जोड दिए ।

उद्घाटन सत्रको सुरुमा महिलाहरुको वाद्यवादन रहेको श्रीतारा ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।

जेठ २० सम्म चल्ने महोत्सवमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फमा विविधताले भरिएका २२ देशका ६० भन्दा बढी सिनेमा प्रदर्शन हुनेछन् ।