‘लण्डन टु पेरिस’ डायस्पोरामा बस्ने युवापुस्ताको कथा हो : घनश्याम लामिछाने

‘लण्डन टु पेरिस’ डायस्पोरामा बस्ने युवापुस्ताको कथा हो : घनश्याम लामिछाने

सिनेमाको कथालाई सिनेमाका ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । ‘सिनेमाको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले सिनेमाको कथा भन्दा पर गएर खिचेका छैनौं । जे चाहिने हो त्यही खिचेका छौं,’ उनले भने ।

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ सिनेमा ‘लण्डन टु पेरिस’ लिएर आउँदैछन् । आफ्ना अघिल्ला सिनेमा ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने बेलायतको लण्डनमा छायांकन गरेका छन् ।

निर्देशक लामिछानेको बुझाईमा ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु भने नेपाली परिवेशकै छ । ‘लण्डन टु पेरिस हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो । हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो’, घनश्याम भन्छन्, ‘मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो सिनेमा बनाएका हौं । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु ।’

घनश्याम सिनेमा हेरिरहँदा दर्शकले कथाबाहिर गए जस्तो नलाग्ने दाबी गर्छन् । ‘सिनेमाका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । सिनेमा अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका सिनेमा हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’, घनश्याम भन्छन् ।

घनश्यामलाई नेपाली समाज, संस्कृति, भुगोलसँग जोडिएर काम गर्दा आनन्दको अनुभव हुँदो रहेछ । अझ राम्रो कलाकार र स्क्रिप्ट भएमा त्यसले आफूलाई झन खुलेर काम गराउने वातावरण दिने उनको बुझाई छ । ‘राम्रो कलाकार र स्क्रिप्ट छ भने त्यसले मलाई चुनौती वा जोखिम दिँदैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन’, घनश्यामको भनाइ छ ।

उनले सिनेमाको कथा अनुसार नै मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गर्न केही समय लागेको खुलाए । ‘सिनेमाको कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर भए पनि हामीले उनलाई सिनेमामा लियौं । हाम्रो सिनेमामा प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतीकरण फरक छ’, उनी भन्छन् ।

उनले सिनेमाको कथालाई सिनेमाका ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । ‘सिनेमाको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले सिनेमाको कथा भन्दा पर गएर खिचेका छैनौं । जे चाहिने हो त्यही खिचेका छौं,’ उनले भने ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।