लभरगर्ल बाहेक अरु क्यारेक्टरको पनि अनुभव लिन चाहन्छु : साम्राज्ञी

लभरगर्ल बाहेक अरु क्यारेक्टरको पनि अनुभव लिन चाहन्छु : साम्राज्ञी

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री साम्राञी राज्यलक्ष्मी शाह यतिवेला आगामी शुक्रबार अर्थात् जेठ २५ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा लण्डन टु पेरिसको प्रचारमा व्यस्त छिन् । उनी अहिले विभिन्न मिडिया तथा समाजिक सञ्जाल मार्फत सिनेमाको बारेमा दर्शकलाई बुझाई रहेकी छन् ।

यसैबीच विभिन्न मिडियासँगको कुराकानीमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘लण्डन टु पेरिस’ आफ्ना लागि कमब्याक नभएको तर राम्रो हुने र दर्शकले मन पराइदिनेमा आफ्नो विश्वास रहेको बताएकी छन् ।

‘निर्देशकले तपाईंजस्तै सिनेमाको क्यारेक्टर छ भनेर भन्नुभएको थियो । अहिलेको युवा पुस्ता जसरी धेरै रिलेसनमा बस्छ, इगो लिएर बस्छ, धेरै सोच्छ त्यस्तै क्यारेक्टर छ मेरो,’ साम्राज्ञी भन्छिन्, ‘अलि अलि मेरै जीवन कथासँग पनि मिल्छ होला । तर सबै होइन ।’

आफूलाई लभस्टोरी जानराबाटै अफर आउने र त्यसभित्रैबाट छानेर सिनेमा गर्ने गरेको उनले बताइन् । तर आफूलाइ अरु जानराका सिनेमामा फरक फरक क्यारेक्टर पनि गर्ने रहर रहेको उनको भनाइ छ ।

‘मलाई त्यस्तै (लभस्टोरी) जानरामा राखिसकिएको छ । त्यस्तै खालका ८/९ वटा स्क्रिप्टबाट छनोट गरेर मैले काम गरिरहेको छु,’ केही दिनअगाडि सिनेमा ‘लन्डन टु पेरिस’को निर्माणपक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘पक्कै पनि म फरक-फरक जानरामा काम गर्न चाहन्छु । लभरगर्ल बाहेक अरु क्यारेक्टरमा पनि अनुभव लिन चाहन्छु । तर आइरहेका एकै खालका क्यारेक्टरबाट छनोट गरेर राम्रो स्कृप्टमा काम गरिरहेको छु ।’

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।