द सिनेमा टाइम्स,काठमाडौं । एक्सन स्टार विराज भट्ट यो पटक दशैँमा नयाँ सिनेमा लिएर दर्शकमाझ आउँदैछन् । उनी दसैँमा एक्सनड्रामा ‘१२ गाउँ’ लिएर आउँदैछन् ।
‘१२ गाउँ’सँगै विराजले यो पटक नेपाली सिने नगरीमा एक्सन स्टारलाई पनि लिएर आउँदैछन् । उनी हुन्, समीर भट्ट । नाताले समीर विराजका छोरा हुन् ।
उही सिनेमा ‘१२ गाउँ’को थिम पोस्टर (क्यारेक्टर लुक्स झल्किने) गत बिहीबार निर्माण टिमले सार्वजनिक गरेको थियो । जसमा एक्सनस्टार विराज र उनका छोरा समीर छन् । जो एकअर्काप्रति आमने सामने छन् । तलदेखि माथि कालो गेटअपमा समीर छन् भने सेतो टिसर्टर कालो जिन्समा विराज छन् । जसले एकले अर्कोलाई हेरिरहेका छन् ।
दुवै एंग्री लुक्समा छन् । रगतमा लतपतिएका उनीहरू एक्सन लुक्समा देखिएका छन् । तुलनात्मक रूपमा समीर भन्दा विराजको शरीरमा रगत धेरै तलपतिएको छ ।
उनीहरूको अगाडि एक युवती छिन्, जो आपतमा छिन् र डाको छोडेर रोइरहेकी छन् । जसको अनुहारभरी माटैमाटो छ । लाग्छ, उनी जीवनको भिख मागिरहेकी छिन् । विराज उनीसँग बदला लिएरहेका छन् अथवा केही बकाइरहेको जस्तो देखिन्छ ।
पृष्ठभूमीमा पहाडको फेदीमा एउटा गाउँ छ । एक अर्कोसँग घर जोडिएको बाक्लो गाउँछ । जुन गाउँका घरमा आगो लागिरहेको देखिन्छ । कुनै अर्को पक्ष (ग्याङ)ले आगो लगाइरहेको र त्यसको एक सदस्यको रुपमा ती युवती फेला परेपछि केरकार गरिरहेको जस्तो थिम पोस्टरले संकेत गरेको छ ।
पहाडको टुप्पोमा गुम्माजस्तो देखिन्छ, तर धुँवाले घुरमैलो देखिएकाले त्यो गुम्वा हो वा रिसोर्ट भन्ने प्रष्ट छैन ।
आगो लागिरहेको गाउँ रियल गाउँ नभएर सेट लगाएजस्तो देखिन्छ, यसले सिनेमाको प्रोडक्सन भ्यालु हाइ रहेको संकेत गर्छ । सिनेमा एक्सन ड्रामा हुनु, ब्रान्ड भ्यालु भएका सिनेमा आउँदा त्यसकै सेरोफेरोमा आउने घोषणा गर्नु, एक्सन स्टार जन्माउने उद्देश्यले समीर भट्टलाई लञ्च गर्नुले सिनेमा उच्च क्वालिटीको बन्ने आत्मविश्वास हुनु हो ।
थिम पोस्टरले सिनेमाको हाइ बजेटमा बनेको संकेत गरेको छ । यसले सिनेमा प्रतिक्षित बन्ने संकेत गरेको छ । विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन सिनेमा ‘१२ गाउँ’ हुने यसअघि नै बताइसकेका छन् ।
विराज भट्टको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘१२ गाउँ’को टिजर चाँडै सार्वजनिक गरिने भएको छ ।
यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफियाफिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।
प्रतिक्रिया