द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाको इतिहासमा नै सबैभन्दा धेरै शो पाएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ले दर्शकको उत्साहजनक साथ पाएको छ । घटस्थापनाको अवसर पारेर आज (बिहीबार)बाट रिलिज भएको सिनेमाले हाइप अनुसारकै दर्शकको साथ पाएको छ । देशभर गरेर ३३५ भन्दा धेरै शो पाएको सिनेमाले आज अधिकांश हलमा उच्च अकुपेन्सीमा बिजनेश गरेको छ ।
उच्च संख्यामा पाएको शो र हलमा देखिएको उच्च अकुपेन्सीले आक्रामक ओपनिङ भएको अनुमान लगाउन सकिन्छ । पहिलो दिन एक करोडभन्दा माथि ओपनिङ गर्ने करिबकरिब निश्चित देखिएको छ ।
सिनेमाले बनाएको हाइप, कलाकारको स्टारडम, जनरा फेमेली ड्रामा हुनु र सिचुएसनल कमेडी भएकाले सिनेमाको आक्रमक ओपनिङको निश्चित थियो । दर्शकको रिभ्यु पनि राम्रो आएकाले सिनेमाले राम्रो कमाइ गर्ने देखिएको छ ।
सिनेमाका मुख्य कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेत, लोकेन्द्र लेखकलगायत कलाकार तथा निर्देशक बिहानैबाट हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए । जसमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
बुधबार भएको प्रिमियरमा पनि सिनेमाले राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमामा स्टारडमको असर पनि देखिएको छ । जसका कारण बिहानैदेखि सिनेमा दिनभर उच्च अकुपेन्सीमा चल्यो ।
मल्टिप्लेक्सका कतिपय शो हाउसफुल भएका थिए । अग्रिम टिकट बुकिङमा नै शो हाउसफुल भएका थिए । निर्माणपक्षले राम्रो प्रतिक्रिया आएकाले वर्ड अफ माउथ पनि राम्रो हुने र भोलिबाट दर्शकको फ्लो थप बढ्ने बताएको छ ।
पहिलो दिन (बिहीबार)को बक्सअफिस कलेक्सन भोलि बिहानसम्म आउने निर्माणपक्षले जानकारी दिएको छ ।
सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । उनीहरुसँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गरेको छ ।




प्रतिक्रिया