‘१२ गाउँ’ पैसा कमाउने उद्देश्यले मात्र बनाएको होइन् : विराज भट्ट

‘१२ गाउँ’ पैसा कमाउने उद्देश्यले मात्र बनाएको होइन् : विराज भट्ट

उनी भन्छन्, ‘यो मैले अलग सोचले बनाएको सिनेमा हो । यो एउटा सुरुवात हो । मेरो चाहना सिनेमा बनाएर कमाइहालुम् भन्ने मात्र छैन । नेपाली सिनेमालाई एक्सनको ‘लेभल’मा कसरी माथि लैजान सकिन्छ भन्ने सोचमा नै म हुन्छु । म अझै जोखिमपूर्ण सिनेमा बनाउन चाहन्छु ।’

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको प्रतिक्षित सिनेमा ‘१२ गाउँ’ प्रदर्शनमा आउँदैछ । सिनेमाको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट दर्शकमाझ हाइप उच्च बनेको छ ।

यसबीच बिहीबार सिनेमाको निर्माण टिमले राजधानीको एक रेष्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ विराजका छारो समीर भट्टले पहिलो मिडिया फेस गरेका थिए । त्यसका साथै अभिनेता तथा निर्देशक विराज पनि ४ वर्षपछि यो एक्सन सिनेमा लिएर नेपाली रजतपटमा फर्किएका हुन् ।

यो सिनेमा विराजका छोरा समीर भट्ट कारण चर्चामा छ । विराजले पत्रकारसँग कुरा गर्दै लामो समयदेखि नेपाली सिनेमामा एक्सन विधा हराएकोमा चिन्तित देखिए । उनी भन्छन्, ‘बीचमा एक्सन विधा कता-कता हराएको जस्तो देखिएको थियो । त्यो नेपाली सिनेमाका लागि दुर्भाग्यपूर्ण थियो । लामो समयदेखि नेपाली दर्शकले दक्षिण भारतीय एक्सन हेर्दै आइरहेको अवस्था छ ।’

नेपाली सिनेमालाई माथि लैजानु नै विराजले ‘१२ गाउँ’ बनाउनुको उद्देश्य रहेको दाबी गर्छन् । समीरलाई लामो समय भारतको मुम्बईमा ट्रेनिङ गराउनुको उद्देश्य पनि नेपाली सिनेमामा केही नयाँ दिनु रहेको उनको भनाई थियो । नेपालमा एक्सन सिनेमा निर्माण गर्दा विदेशी सिनेमासँग तुलना गर्ने प्रवृत्ति रहेको उनको अनुभव छ ।

‘कमेडी, पारिवारिक वा अर्गानिक भनिने सिनेमा बनाउँदा कसैसँग तुलना गरिँदैन । जब एक्सन सिनेमा निर्माण गर्न थाल्छौं, तब नेपाली सिनेमालाई ‘सलार’, ‘पठान’, ‘केजीएफ’ जस्ता विदेशी सिनेमासँग तुलना गरिन्छ । यो ठूलो चुनौती हो । नेपाली सिनेमाको बजेटमा हामी त्यस्तो सिनेमा निर्माण गर्न सक्दैनौं । हामीले गर्न सक्ने भनेको मिहिनेत हो । १२ गाउँमा हामीले भरपुर मेहनत गरेका छौं,’ त्यसमा हामी विश्वस्त पनि छौं ।

‘१२ गाउँ’लाई अलग सोचले बनाएको विराज बताउँछन् । पैसा कमाउने उद्देश्यले मात्र सिनेमा नबनाएको उनको भनाई छ । उनी भन्छन्, ‘यो मैले अलग सोचले बनाएको सिनेमा हो । यो एउटा सुरुवात हो । मेरो चाहना सिनेमा बनाएर कमाइहालुम् भन्ने मात्र छैन । नेपाली सिनेमालाई एक्सनको ‘लेभल’मा कसरी माथि लैजान सकिन्छ भन्ने सोचमा नै म हुन्छु । म अझै जोखिमपूर्ण सिनेमा बनाउन चाहन्छु ।’

डेव्यु अभिनेता समीर भने विराजलाई आफ्नो गुरु मान्छन् । आफुले सधैं बुबालाई पछ्याउने गरेको उनी बताउँछन् । ‘ट्रेनिङ मैले गरेको भएता पनि मार्गदर्शन बुबाले गराउनुभएको हो । मैले उहाँलाई नै पछ्याउने गरेको छु । उहाँ जस्तो बुबा पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु । हरेक मान्छेको जीवनमा एउटा गुरुको आवश्यकता पर्छ । नभए दिशा भड्किन्छ । मेरो हकमा चाहिँ गुरु नै बुबा हुनुहुन्छ’, समीरले भने ।

उनी भन्छन्, ‘बुबाको लिगेसीलाई अगाडि बढाउनुपर्ने चुनौती मलाई छ । यो मानेमा विराज भट्टको छोरा भएकोमा घाटा महसुस हुँदैन । मलाई विराज भट्टको छोरा हुनुमा गर्व लाग्छ । अहिले भइरहेको चर्चाभन्दा पनि म विराज भट्टको छोरा भएकोमा गर्व गर्छु । उहाँको छोरा भएकाले म घाटा देख्दिनँ । फाइदै फाइदा देख्छु । किनकि उहाँ मेरो बुबा र गुरु दुवै हो ।’

केही साता यता समीरले सिनेमा ‘बलिदान’को छायांकन गरिरहेका छन् । सम्झौताको हिसाबले भने यो उनको पहिलो सिनेमा हो । तर, निर्माणमा ढिलाई हुँदा ‘१२ गाउँ’ डेब्यु बन्न पुग्यो । ‘बलिदान’पछि राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा नेपाली सिनेमामा नै काम गर्ने उनको सोच छ । समीरले अहिले भविष्यलाई लिएर गम्भीर नसोचेकाले आफ्नो जीवनमा चलिरहेको चरणलाई नै ‘इन्जोय’ गरिरहेको बताउँछन् ।

यही सिनेमाबाट अभिनेत्रीको रुपमा न्यान्सी खड्काले पनि नेपाली रजतपटमा डेव्यु गरेकी छन् । उनी पनि सिनेमालाई लिएर निकै उत्साहीत रहेको बताउँछिन् । उनलाई कार्यक्रममा पत्रकारले तपाईको समीरसँग जोडी बाँधिनु पर्नेमा विराजसँग जोडी बाँधिएको हो ? भनेर प्रश्न गरेका थिए । जसको जवाफमा उनले अहिले सिनेमाको कथावस्तु र आफ्नो भूमिकाको विषयमा धेरै नखुलाइएको हुँदा असोज २४ गतेसम्म प्रतिक्षा गर्न अनुरोध गर्दै त्यसपछि आफ्नो भूमिका र कस्को जोडी भन्ने प्रस्ट हुने बताइन् ।

ले अहिले यो सिनेमामा विराज, समीर र न्यान्सीसँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।