द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री निती शाहको मुख्य भूमिका रहेको सिनेमा ‘ज्वाइँ साब’ आगामी शुक्रबार अर्थात् असोज २४ गते फूलपातीमा रिलिज हुँदैछ । उनी ‘लक्ष्मी’ पात्रका रुपमा सिनेमामा रहेकी छिन् । उनको जोडी जितु नेपालसँग बाँधिएको छ ।
‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै सिनेमामा काम गर्न नीति तयार भएकी थिइन् । ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले स्क्रिप्ट सुनाउनु भएको थियो । मेरो क्यारेक्टर राम्रो लागेकाले काम गर्न सहमत भएँ । सिनेमामा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुुहुन्छ भन्ने थाहा पाएँ,’ उनले भनिन् ।
नीतिका अनुसार सिनेमाको कथा उनकै वरपर घुमेको छ । कथा नै मेरो लागि महत्वपूर्ण रहेको उनको भनाई छ । ‘मलाई स्टोरीलाइन मन परेको थियो । कथा मेरै वरपर घुमेकाले पनि यो सिनेमा गर्नुपर्छ भन्ने लाग्यो’, उनी भन्छिन् ।
केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो । त्यो फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने । नीति टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स पाएको बताउँछिन् । ‘हाँसीखुशी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन् । यो कसरी सम्भव छ ? भन्ने चासो आम मानिसमा रहेछ । तर मेरो बुझाईमा जे हुन्छ राम्रैका लागि हुन्छ’, निती भन्छिन् ।
सिनेमा ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेको पनि बताएकी छन् । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । सिनेमामा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर अझ धेरै सिक्न बाँकी छ’, उनी भन्छिन् ।
आफू जितु नेपालको कामबाट प्रभावित भएको खुलाइन् । ‘जितु दाई म भन्दा धेरै सिनियर । तर सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँले एकदमै सहजीकरण गर्नुभयो । काम गर्न सजिलो भयो । सिनेमाको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यो मेरा लागि ‘इन्स्पायरिङ’ लाग्यो’, उनले भनिन् ।
बसन्त निरौला निर्देशित सिनेमामा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।
रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।
राजकुमार पण्डितको प्रस्तुतिमा बनेको सिनेमामा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।



प्रतिक्रिया