द सिनेमा टाइम्स, काठमाडौं । क्रिसमसको अवसर पारेर डिसेम्बर २५ मा बलिउडका चर्चित गायक सोनु निगमले नेपालमा सांगीतिक प्रस्तुती दिने भएका छन् । आइतबार नेपाली टच-नेपालले काठमाडौंको एक होटलमा आयोजित कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो ।
नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा बोल्दै ‘नेपाली टच नेपाल’का प्रमुख राजकुमार गोस्वामीले अष्ट्रेलियामा गर्दै आइरहेको कार्यक्रम नेपालमा पनि गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको बताए ।
‘हामीले विगत १४/१५ वर्षदेखि अष्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं । आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो’, उनले भने ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ । बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं ।’
यो कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ । जहाँ सबैभन्दा सस्तो फेरस्टिभ जेनेरल टिकटको २ हजार, फेस्टिभ प्ल्याटिनमको ४ हजार, फेस्टिभ भिआइपी सिटिङको १० हजार तथा फेस्टिभ भिभिआइपी टेवलको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । जसमा प्ल्याटिनम टिकट किन्नेले एउटा वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखिका सबै टिकट क्रेताले निःशुल्क फुड एण्ड वेभरेज पाउनेछन् ।
आयोजक गोस्वामीले क्रिसमसमा हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरु भएको घोषणा पनि गरेका थिए । कार्यक्रममा सहभागी हुन चाहनेले इसेवामार्फत टिकट किन्न सक्नेछन । ‘इसेवाले राम्रो इभेन्टको आवश्यक्ता महशुस गरिरहेको थियो । नेपाली टचजस्तो ठूलो कम्पनी त्यसमाथि सोनु निगमजस्तो इन्ट्रनेश्नल आर्टिस्टसँग जोडिन पाउँदा इसेवा कम्पनी नै खुशी छ’, इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले भने ।
कार्यक्रमका लागि ६ बजे प्रवेश खुला गरिनेछ । कार्यक्रमलाई संजय गुप्ताले संचालन गर्नेछन् ।



प्रतिक्रिया