द सिनेमा टाइम्स, काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले अबको नेपालको सुपरस्टार समीर भट्ट भएको बताएका छन् । आफ्नो सिनेमा ‘बलिदान’को हिरो भएकाले समीरलाई ‘१२ गाउँ’का लागि सपोर्ट गरेको उनले बताए । नेपाली सिनेमा उद्योगमा नयाँ नयाँ ट्यालेन्ट आउनुपर्ने र उनीहरूलाई सहयोग र स्वागतको खाँचो रहेको पनि उनले प्रष्ट पारेका छन् ।
नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय जगतमा लैजान सक्ने क्षमता समीरमा रहेको र यसका लागि उनले १० वर्ष कठोर ट्रेनिङ गरेर आएको सन्तोषले बताए । उनको यो मेहनत र क्षमतलाई आफूले स्वागत र सहयोग गरेको उनले प्रष्ट पारे । उनको सिनेमा ‘१२ गाउँ’लाई स्वागत गरेकै कारण आफूलाई साइबर सेनाको कमाण्डर भएको उनले आरोप लगाएका छन् ।
आफूलाई ‘साइबर सेना’को कमान्डर भएको प्रमाणित गरेर देखाउन उनले निर्माता तथा कलाकार दीपकराज गिरी र पत्रकार प्रकाश सुवेदीलाई चुनौती दिएका छन् । केही समयदेखि ‘१२ गाउँ’को प्रचार गर्दै ‘छक्का पञ्जा–५’लाई गाली गर्न सन्तोष सेनले साइबर सेना प्रयोग गरेको आरोप लागेको थियो ।
‘छक्का पञ्जा–५’लाई सन्तोष सेन ‘१२ गाउँ’को पक्षमा लागेर साइबर सेना प्रयोग गरेको भन्ने आरोप लागेपछि बुधबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत सन्तोषले प्रमाण पुर्याएर मात्रै बोल्न आग्रह गरेका हुन् ।
‘मैले कसरी साइबर सेना वा साइबर स्याल प्रयोग गरेँ, फोन, म्यासेज गरेँ वा घरघर पुगेर भनेँ,” उनले प्रश्न गरेका छन्, “यसको टुंगो लगाउनु पर्यो । सम्बन्धित ठाउँमा जाउँ, अहिलेको डिजिटल युगमा सबै थाहा भइहाल्छ ।” उनले प्रहरीकोमा गएर टुंगो लगाउन संकेत गरेका छन् । प्रमाणित गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।
साइबर सेनाको कमान्डर भएको आरोप लागेपछि सुरुमा आफूले बेवास्था गरे पनि दिनकै सयौँ फोन र म्यासेज आएर हैरान पारेपछि आफू बाध्य भएर जवाफ माग्न आएको बताए ।
यत्तिकै आरोप लगाउन नपाइने उनले बताएका छन् । ‘मैले घरघर गएर दर्शकलाई १२ गाउँ हेर्नू, छक्का पञ्जा नहेर्नु भनेँ कि कसरी भनेँ । दर्शकले फरक स्वाद चाहेका थिए । त्यसैले दर्शक १२ गाउँ हेर्न उल्टिएर आए । ती दर्शक हाम्रा लागि भगवान हो । तर दर्शकलाई आरोप लगाउने कि धन्यवाद दिने’, सन्तोष भन्छन् । सन्तोष दीपक र प्रकाशले आफूलाई नभएर दर्शकलाई गाली गरेको उनको बुझाइ छ ।
आफू हरेक सिनेमा चलोस् भनेर चाहने र हरेक सिनेमालाई शुभकामना दिने व्यक्ति भएको उनको भनाइ छ । आफूलाई दुस्मन ठान्ने व्यक्तिका सिनेमा पनि चलोस् भनेर शुभकामना दिने उनले बताए ।
‘प्रकाश दाइले सुनेको र दीपक दाइले देखेको साइबर सेना को हो, त्यसको जरासम्म पुगेर पत्ता लगाऔँ, यसरी दर्शकलाई बारम्बार गाली नगरौँ । भन्ने र सुन्ने व्यक्तिले कोबाट सुनेको त्यसलाई फलो गर्दै जाँदा जरासम्म पुगिन्छ,’ उनले भनेका छन्, ‘यो दर्शकको अपमान हो, सिनेमा उद्योगका लागि घाटा हो । दर्शक हाम्रो देउता हो, उसलाई साइबर स्याल र साइबर सेना भन्न मिल्दैन । अब यसको जराकै नपुगी सुख छैन । यत्तिकै आरोप लगाउन पाइँदैन ।’
दसैँ, तिहार सबैको पर्व भएको र यो कसैको पनि नभएको सन्तोष बताउँछन् । तर पनि दीपकराज गिरीले आफू दसैँमा सिनेमा रिलिज गर्छु भनेर भनेपछि आफूले पहिला नै रिलिज डेट लिए पनि दीपकको सिनेमाका लागि छोडेको उनले स्मरण गरे । छक्का पञ्जा–५का लागि शुभकमना दिँदा दीपकले रियाक्ट समेत नदिएको उनले बताएका छन् । त्यसपछि ‘१२ गाउँ’लाई मात्रै शुभकामना दिएजस्तो देखिएको सन्तोषले भिडियोमा बताएका छन् ।
आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेकाले केही बढी पोस्ट यो सिनेमाको गरेको उनले बताएका छन् । आफ्नो सिनेमाको हिरो संसारकै टप होस् भन्ने चाहना राख्नु स्वभाविक भएको उनले बताएका छन् । यो सोच्नु र चाहनु आफ्नो गल्ती नभएको उनले प्रष्ट पारेका छन् ।
‘१२ गाउँ’ले रिलिज डेट लिएदेखि नै सामाजिक सञ्जालमा यो पटक ‘१२ गाउँ’ हेरौँ भन्ने पोस्ट र कमेन्टहरू आइरहेका थिए । यसलाई ‘छक्का पञ्जा–५’को टिमले साइबर सेनाको आक्रमण भनेको थियो । आफ्नो सिनेमाको गीत, पोस्टर, टिजर, ट्रेलरमा आएर गाली गर्दै आफ्नो सिनेमाको प्रचार गरिरहेको बताएका थिए । यही आरोप सन्तोष सेनलाई लागेपछि उनले प्रमाण जुटाएर देखाउन भनेका हुन् ।
उनले दीपकराज गिरीले सिनेमा बनाएर पैसा कमाए पनि सिनेमा उद्योगका लागि भने कुनै योगदान नरहेको टिप्पणी गरेका छन् । ‘एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड बनाउँदैमा सिनेमा इन्डस्ट्री धानिदैन । घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै योगदान छ,’ उनले भनेका छन् ।
उनले दीपकराज गिरीको ब्यानरले सय करोड ग्रसकलेक्सन गरे पनि सिनेमा उद्योगका लागि अपेक्षित काम नगरेको सन्तोषले आरोप लगाएका छन् । ‘तपाइँले ठूलो क्यानभासमा सक्षम डाइरेक्टर राखेर समीर भट्ट, प्रदीप खड्कजस्ता सक्षम एक्टरलाई खेलाएर चलचित्र बनाएर नेफफिल्क्समा रिलिज होस् भन्ने चाहना राख्नुपथ्र्यो,’ उनले भनेका छन् ।
सधैँ दीपकले सस्तो बजेटमा सिनेमा बनाएर कमाउनेमा मात्रै ध्यान दिन खोजेको बताएका छन् । ‘नेपाली चलचित्र उद्योग अगाडि बढ्थ्यो । हामी अंकगणितमा मात्रै सीमित भयौँ । कति थोरै लगानी गरेर कति धेरै कमाउने भन्ने सोच्नुभयो । यसले व्यक्तिगत रुपमा तपाइँलाई फाइदा भयो । तर इन्डस्ट्रीलाई फाइला भएन,’ उनको आरोप छ ।
उनले मनमा तुष राखेर बाहिर मिठो बोलेर मात्रै नहुने बताएका छन् । मिठो बोलेजस्तै मनैदेखि त्यस्तै सोच्न आग्रह गरे । दिमागबाट होइन मनबाट सोच्ल पनि दीपकलाई सुझाव दिएका छन् ।
नेपाली सिनेमा उद्योगमा समीर भट्टको उदय भएको स्वीकार्न उनले सबैसँग आग्रह गरेका छन् । समीर भट्टको उदयलाई उनले काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन् । त्यस्तै मेहनत र तयारी गरेर आएको उनले बताएका छन् ।
उनले समीर भट्टलाई कसैले पनि सपोर्ट नगरेको आरोप लगाएका छन् । दर्शकबाहेक नेपाली सिनेमा उद्योगबाट कसैले पनि सहयोग नगरेको भन्दै उनले असन्तुष्टि जनाए । आफूले सिनेमा रिलिजको तीन÷चार दिनसम्म पनि सपोर्ट होला भनेर अपेक्षा गरेपछि त्यो नभएको भन्दै उनले असन्तुष्टि जनाए ।
विराज भट्टले दश वर्ष समीर कठोर ट्रेनिङमा हालेर मम्प्लिट हिरो बनाएको उनले बताएका छन् । ‘बच्चमै समीर कठोर ट्रेनिङमा थिए । उनलाई पनि अरुजस्तै घुम्ने, रमाउने उमेर थियो होला । तर उनी कठोर ट्रेनिङ गरेर आएका छन्,’ उनी भन्छन् ‘विराज दाइले यो इन्डस्ट्रीलाई यस्तो हिरो दिनुभयो । तर यो कसैलाई मन परेको छैन । कोही खुसी छैन ।’
सिनेमा क्षेत्रले मन पराए पनि नपराए पनि अबको हिरो र देशमात्रै होइन विदेशमा समेत पुग्ने हिरो समीर नै भएको उनको दाबी छ ।


प्रतिक्रिया