तेस्रो हप्तामा कुन सिनेमालाई कति शो ?

तेस्रो हप्तामा कुन सिनेमालाई कति शो ?

द सिनेमा टाइम्स
2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आएका तीन सिनेमा ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ हिजो बिहीबारबाट तेस्रो हप्तामा प्रदर्शनरत छन् ।

सफलताका साथ तेस्रो साथामा प्रवेश गरेका तीन सिनेमा र आज शुक्रबारबाट पुनः प्रदर्शनमा आएको सिनेमा सानो संसारले देशभरका हलमा कति शो पाएका छन् । त्यो धेरै दर्शकमाझ चासोको बिषय बनेको देखिन्छ । हामीले यो समाचारमा दर्शकको त्यो उत्सुकता मेटाउने प्रयास गरेका छौं ।

हामीले देशभर सञ्चालनमा रहेका सिनेमा घर र तीनका टिकट बिक्रि गरिने अनलाइन वेव पोर्टलबाट तेस्रो सातामा प्रदर्शनरत सिनेमाको डाटा कलेक्सन गरेका छौं । तेस्रो साताको शुक्रबार देशभर सञ्चालनमा रहेका सिनेमा घरमा सवैभन्दा धेरै शो ‘१२ गाउँ’ले पाएको छ । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको यो सिनेमाले आज शुक्रबार देशभरका हलमा दुई सय बढि शो पाएको छ । यी शोहरु भोली शनिबारका लागि पनि यथावत रहेको हलका अनलाइन वेव पोर्टलमा देख्न सकिन्छ ।

यस्तै, दोस्रो नम्बरमा दीपक राज गिरीको निर्माण र अभिनय अनि दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा ५’ देखिन्छ । रिलिजको चौथों दिनसम्म देशभरका हलमा सर्वाधिक शो पाएको सिनेमालाई पाँचौं दिनबाट ‘१२ गाउँ’ले शोमा यो सिनेमालाई उछिनेको थियो । तेस्रो साताको शुक्रबार यो सिनेमाले देशभरका हलमा १ सय ३० बढि शो पाएको छ । यी शो भोली शनिबारका लागि पनि यथावत छन् ।

शोको तेस्रो नम्बरमा भने आज शुक्रबारबाट प्रदर्शनमा आएको निर्माता अर्जु कुमार र माधव वाग्लेको लगानी र सिद्धार्थ पुडासैनीको निर्देशन रहेको सिनेमा ‘सानो संसार’ छ । यो सिनेमाले रि–रिलिजमा निकै न्युन शो पाएको छ । आज शुक्रबार यो सिनेमाले देशभरका सिनेमा घरमा २५ बढि शो पाएको छ ।

सिनेमाले आज शुक्रबार पाएको शोमा दर्शकको राम्रो अकुपेन्सी नदेखिए भोली शनिबारलाई त्यो शो संख्या पनि घट्ने देखिन्छ । यसअघि पनि शुक्रबार दर्शक अकुपेन्सी राम्रो नदेखिएपछि शुक्रबारको तुलनामा शनिबार शो घटेको देखिन्थ्यो । सिनेमाले दुई चरणमा गरिएको प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएकाले दर्शकको साथ मिल्ने र शो थपिने विश्वास निर्माण टिमलाई छ ।

शोका आधारमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’सँग प्रदर्शनमा आएको सिनेमा ‘ज्वाइँ साब’ निकै कमजोर देखिन्छ । तेस्रो हप्ताको आज शुक्रबारलाई यो सिनेमाले देशभरका सिनेमा घरमा १५ शो बढि पाएको छ । भोली शनिबारका लागि यी शोहरु यथावत रहेपनि हलिउड सिनेमा ‘भेनम ३’ र दक्षिण भारतीय सिनेमा ‘कालिंगा’को केही शो कटौती भएर आफुले पाउने विश्वास ‘ज्वाइँ साब’ निर्माण टिमलाई छ ।