द सिनेमा टाइम्स, काठमाडौं । तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिम यतिवेला प्रचार प्रसारको दौडधुपमा छ । केही दिन अगाडी मात्रै मोफसल टुर सकेर काठमाडौं फर्केको निर्माण टिम यतिवेला विभिन्न मिडियामा पुगरे सिनेमाको विषयमा जानकारी दिइरहेको छ ।
सिनेमाले सारङ्गी बजाएर परिवारको जीविकोपार्जन गर्ने एक बाबुले छोराका लागि गरेको त्याग र देखेको सपनाको कथावस्तु उठान गरेको छ । सिनेमाको टिजर र ट्रेलर हेर्दा कथा मौलिक देखिन्छ । त्यसैले सिनेमाका निर्देशक सरोज पौडेल पनि सिनेमालाई जुम्लाको स्याउको रुपमा चिनाउँछन् ।
राजधानीमा आइतबार आयोजित पत्रकार भेटघाटमा निर्देशक पौडेलले सिनेमा विशुद्ध पारिवारिक सिनेमा भएको बताए । ‘एउटा बाबुले सन्तानका लागि देखेको सपना र गरेको संघर्षमा सिनेमा आधारित छ । सिनेमाले दर्शकको चित्त बुझाउँछ भन्ने विश्वास छ । हामीले सिनेमा बजारमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई जुम्लाको स्याउको रुपमा ल्याएका छौं ।’
सिनेमामा सारङ्गीलाई पात्रको रुपमा खडा गरिएको निर्देशक पौडेल बताउँछन् । गन्धर्व समुदायको कथामा सिनेमा बनेकाले नाममा पनि सारङ्गी राखेको उनको दाबी छ । उनी भन्छन्, ‘सिनेमाको कथा सारङ्गीसँग जोडिएको छ । सारङ्गी पनि एउटा पात्रको रुपमा उभिएको छ । सारङ्गी हामी नेपालीका लागि प्रिय बाजा हो । त्यसैको साहरामा गुजरा चलाउने गन्धर्व परिवारको कथा सिनेमामा छ । गन्धर्व भन्ने वितिक्कै सारङ्गी जोडिन्छ । यसैले नाममा पनि सारङ्गी राखेका हौं ।’
यसअघि सहायक भूमिकामा रुचाइएका कलाकार विजय बरालले यो सिनेमा मुख्य भूमिका निवार्ह गरेका छन् । सिनेमाको कथा उनीमै केन्द्रित छ । यसैले सिनेमाबाट अफर आउँदा आफुले दुई हप्तासम्म निर्णय नै दिन नसकेको अनुभव सुनाए । मुख्य हिरो भएकै कारण आफुलाई एक किसिमको डर लागेको उनी बताउँछन् ।
‘कथा सुनेपछि त मैले दुई हप्ता होल्ड नै गरेँ । हिरो भनेर आउने वितिक्कै मलाई एक किसिमको डर लाग्यो । साइडमा बसेर काम गर्न जति सहज हुन्छ । त्यस्तो सहज फ्रन्टलाइनमा बसेर गर्दा कमै हुन्छ । जसमा रिक्स र फाइदा दुवै छ’, विजय भन्छन्, ‘दुई हप्ता होल्ड गरेपछि मैले आफैंलाई आँट दिलाएँ । त्यसपछि काम गर्न तयार भएँ ।’
सिनेमाको हिरो बन्ने भएपछि त्यही अनुसारको तयारी पनि गर्नु पर्यो । त्यसका लागि मैले सारङ्गी सिक्नुका साथै १० दिनसम्म शरीरको बस्ने पोजिसन, सारङ्गी बोक्ने शैली र हातको चाल पनि सिके । यो चरित्र बाँच्दा गन्धर्वको जीवन कष्टकर रहेको महसुस गरेका थिए । मैले सिनेमाभित्र दुःखी चरित्रलाई निवार्ह गरेको छु । चरित्र दुःखी भएपनि अगाडि बढ्नुपर्छ भन्ने सोच भएको पिता रुपमा देखिएको छु । बाउभित्रको द्वन्द्वात्मक चरित्र दर्शकले हेर्न पाउनेछन् ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विजयसँगै अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद छ ।



प्रतिक्रिया