द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक १५ गते भोलि बिहीबार लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यो सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म सुखद् शो पाएको छ ।
शुक्रबारबाट रिलिज हुन लागेका बलिउडका दुई ठुला सिनेमा ‘सिंगम अगेन’ र ‘भुलभुलैया ३’का बीच सिनेमाले देशभर १ सय २० हाराहारी शो पाएको देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंसहित आफ्नो दशवटा आउटलेटमा सिनेमालाई ३८ शो दिएको छ ।
त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स आईएनआईले सिनेमालाई तीनवटा आउटलेटमा ९ शो दिएको छ भने काठमाडौंका वान सिनेमाजले दुईवटा आउटलेटमा ६ शो, एफक्यूब, बिएसआर मुभिज र बिग मुभिजले समान ३ शो, रञ्जना सिनेप्लेक्स र सिडिसी सिनेमाजले समान ५ शो र कीर्तिपुर सिनेमाजले २ शो दिएका छन् । सिनेमालाई अब प्राप्त शोमा शतप्रतिशत अकुपेन्सीमा बदल्नुपर्ने चुनौती रहेको छ ।
नेपालीहरुको ठुलो चाड तिहारको पाँच दिन लामो विदा छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ बलियो पाएको अवस्थामा सिनेमाले तिहार विदाको राम्रो फाइदा उठाउन सक्ने देखिन्छ । दशैंमा नेपाली सिनेमाप्रति देखिएको दर्शकको आकर्षण हेर्दा तिहारमा पनि त्यो सम्भावना राम्रो देखिएको छ । त्यसमाथि ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली सिनेमामा विरलै मिल्ने शोलो रिलिजको अवसर पनि पाएको छ । जसको फाइदा यो सिनेमालाई हुने देखिन्छ ।
सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।


प्रतिक्रिया