चौंथो हप्तामा ‘१२ गाउँ’, तीन हप्ताको कमाई कति ?

चौंथो हप्तामा ‘१२ गाउँ’, तीन हप्ताको कमाई कति ?

द सिनेमा टाइम्स
6.8k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’ आजबाट चौंथो हप्तामा प्रवेश गरेको छ । उच्च शो र आक्रामक व्यापार गरिरहेको सिनेमाले प्रदर्शनको २२ औं दिनमा पनि देशभरका सिनेमा घरमा १ सय ५० बढि शो पाएको हो ।

यसैबीच निर्माण टिमले तीन हप्ताको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । वितरक गोविन्द शाहीका अनुसार सिनेमाले २१ दिनसम्म २३ करोड ५० लाख ग्रसकलेक्सन गरेको हो । उनका अनुसार सिनेमाले नेपाली बक्सअफिसमा इतिहास रचेको छ ।

वितरक शाहीले सिनेमाले चौथो हप्तामा पाएको शो हेर्दा तिहार विदामा पनि आक्रामक व्यापार गर्ने देखिएको बताउँछन् । अहिलेको ब्यापारको रफ्तार हेर्दा सिनेमाले लाइफ टाइम ३० करोड ग्रसकलेक्सनको आँकडा छुने देखिएको दाबी गर्छन् । भोली शुक्रबारबाट प्रदर्शनमा आउँने बलिउडका दुई ठुला सिक्वेल सिनेमा ‘सिंगम अगेन’ र ‘भुलभुलैया ३’ले शोमा केही गिरावट आएपनि यी सिनेमा कमजोर निस्केको खण्डमा त्यसको फाइदा ‘१२ गाउँ’लाई पुग्ने विश्वास वितरक शाहीको छ ।

यो सिनेमाबाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गरेका हुन् ।