‘ह्रस्व दीर्घ’ ज्योतिष शास्त्र र धर्मले भरिएको छैन् : हरिहर अधिकारी

‘ह्रस्व दीर्घ’ ज्योतिष शास्त्र र धर्मले भरिएको छैन् : हरिहर अधिकारी

स्थापित कलाकारहरुसँग काम गर्दा सुरुमा गाह्रो भएको अनुभव उनको छ । निर्देशकदेखि कलाकारहरुले एकदमै सहयोग गर्नुभयो । साउथका ब्रह्मानन्दम, सुनिल वर्माले पनि सहज बनाइदिनुभयो ।

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ निर्माण टिम यतिवेला प्रचार प्रसारको दौडधुपमा छ । अहिले विभिन्न मिडियादेखि सिनेमाको प्रचार हुने हरेक कार्यक्रममा कलाकारहरु पुगीरहेका छन् ।

निर्माण टिमले गत सोमबार पत्रकार भेटघाट कार्यक्रम राखेको थियो । जहाँ सिनेमाका निर्देशक चन्द्र पन्त, निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता तथा लेखक हरिहर अधिकारी र अभिनेत्री विपना थापा उपस्थित थिए । मुख्य अभिनेता हरिहर ज्योतिष समेत हुन् । अरु निर्मातालाई ज्योतिष शास्त्रअनुसार सल्लाह र सुझाव दिने गरेका हरिहरले आफ्नो सिनेमाको ग्रह-दशा चाहिँ कस्तो देखेका होलान् भन्ने चासो रहनु स्वभाविक हो ।

सोमबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘सिनेमाको ग्रह राम्रो छ । तर, मेरो काम सकिसक्यो । राम्रो दिनमा सुरु गर्यो भने गन्तव्यमा पुगिन्छ, नराम्रो दिनमा यात्रा गर्दा बाधा अड्चन आउन सक्छ भन्ने ज्योतिष शास्त्रको नियम छ । हरेक ठाउँमा लाग्ने यही नै नियम हो । हामीले सिनेमा राम्रो साइतमा सुरु गरेका थियौं । बाधा अड्चन केही नआइ ठूलो ग्राफको सिनेमाको भनेकै दिनमा छायांकन सक्यौं ।’

हरिहरका अनुसार सिनेमाको छायांकन सेड्युल ४३ दिनको राखिएको थियो । नेपाल र भारतमा विभिन्न चरणमा छायांकन हुँदा पनि ४३ दिनमै ‘प्याकअप’ भएको उनको दाबी छ । पोस्ट प्रोडक्सनको काम पनि सरल रुपमा भएकाले ज्योतिष शास्त्रको मुहूर्त हेर्ने सिद्धान्त यही समाप्त भएको उनको तर्क छ । उनी भन्छन्, ‘सिनेमा प्रदर्शनको कुरामा चाहिँ ज्योतिष शास्त्रको कुनै हात हुँदैन ।’

हरिहर ‘ह्रस्व दीर्घ’ ज्योतिष शास्त्र र धर्मले नभरिएको दाबी गर्छन् । ‘मेरो पेशा (ज्योतिष)ले गर्दा धेरैको वास्तविक कथा सुनेको छु । हरेक मानिसको जीवनमा फरक-फरक घटना घटेको हुन्छ । त्यो कारणले गर्दा मैले कथा लेख्दा कहीँ न कहीँ ज्योतिष शास्त्र र धर्म-संस्कृतिको कुरा आयो होला । तर, पूरै सिनेमा चाहिँ योसँग सम्बन्धित छैन,’ उनले प्रष्ट पारेका छन् ।

‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । जसमा नयाँ भनेका हरिहर हुन् । किनकि, यो उनको दोस्रो सिनेमा हो । स्थापित कलाकारहरुसँग काम गर्दा सुरुमा गाह्रो भएको अनुभव उनको छ । निर्देशकदेखि कलाकारहरुले एकदमै सहयोग गर्नुभयो । साउथका ब्रह्मानन्दम, सुनिल वर्माले पनि सहज बनाइदिनुभयो । सबैले सहयोग गरिदिँदा गाह्रो महसुस हुन पाएन,’ उनी भन्छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।