काठमाडौं । वर्डअफ माउथ बलियो हुँदा सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को शो दिनकै थपिनेक्रम जारी छ । रिलिज हुँदा सीमित शो पाएको ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले उच्च शोसहित चलिरहेको छ ।
रिलिजका दिन क्यूएफएक्सले देशभर ३८ शो पाएको ‘पूर्ण बहादुरको सारङ्गी’लाई आज यो मल्टिप्लेक्सले ६४ शो प्रदान गरेको छ । अन्य हलले पनि उच्च शो दिएका छन् ।
उपलब्ध शोमा दर्शकको उच्च चाप देखिँदा अधिकांश शो हाउसफूल भएका छन् । सिनेमालाई हलहरूले उच्च शो दिएपछि र अकुपेन्सी उच्च भएपछि निर्माणपक्षले प्रदर्शक र दर्शक दुवैलाई धन्यवाद दिँदै विज्ञप्ति जारी गरेको छ ।
सिनेमामा विजय बरालको अभिनयलाई लिएर तारिफ भइरहेको छ । सिनेमाले बाउ र छोराबीचको इमोस्नल सम्बन्धको कथा भनेको छ । सिनेमामा छोराका लागि बाउले गर्ने संघर्षको कथा हो ।
सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय बरालसँगै अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ ।
सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।


प्रतिक्रिया