एक दिनमा सर्वाधिक कमाउने सिनेमा बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’, १० दिनको कमाइ कती ?

एक दिनमा सर्वाधिक कमाउने सिनेमा बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’, १० दिनको कमाइ कती ?

द सिनेमा टाइम्स
420
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले अहिले बक्सअफिसमा अक्रामक व्यापार गरिरहेको छ । यो सिनेमाले रिलिजको पहिलो शनिबार औषत व्यापार गरेपनि दोस्रो शनिबार भने बम्पर व्यापार गरेको हो ।

आइतबार सिनेमाको निर्माण टिम र वितरकले सार्वजनिक बक्सअफिस कलेक्सन अनुसार नेपाली सिनेमाको इतिहासमा सर्वाधिक व्यापार गर्ने रेकर्ड बनाएको दाबी गरेका छन् । सर्वाधिक शो पाउने सिनेमाको रेकर्ड बनाएको सिनेमाले एक दिनमै सर्वाधिक कमाई गर्ने नेपाली सिनेमाको कीर्तिमान पनि कायम गरेको हो । अहिले ४ सय ७० बढी शोसहित प्रदर्शनरत सिनेमाले कूल शोको लगभग ७५ प्रतिशत शो आफ्नो पोल्टामा पारेको हो ।

सिनेमाले दोस्रो हप्ताको शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाखको व्यापार गर्दै एकै दिनमा सबैभन्दा बढी कमाई गर्ने नेपाली सिनेमाको रेकर्ड आफ्नो नाममा गरेको छ । यसअघि एकै दिनमा सर्वाधिक कमाई गर्ने सिनेमाको रेकर्ड ‘कबड्डी ४’ले बनाएको थियो, जसको पहिलो दिनको कमाई २ करोड ९० लाख ग्रस थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले दोस्रो हप्ताको शनिबारसम्ममा बक्स अफिसमा झन्डै १८ करोड कमाइ गरेको छ । प्रदर्शनको १० दिनमा सिनेमाको कूल कमाई १७ करोड ९८ लाख पुगेको छ । सिनेमाले दर्शकलाई बिहान ४ बजेदेखि राती ११ बजेसम्म हलमा दर्शक तानिरहेको छ । तैपनि देशभर हलमा दर्शकले टिकट पाउन नसकेको प्रतिक्रिया देखिन्छ ।

गन्धर्व समुदायको कथामा आधारित भएर निर्माण भएको सिनेमा विजयको छोराको भूमिकामा प्रकाशले अभिनय गरेका छन् । सिनेमाले बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । टिकटक र युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको ‘काँधेकुरी’ गीत र टिजर अनि ट्रेलरका कारण सिनेमा चर्चाको शिखरमा छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।