द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते रिलिज हुने सिनेमा ‘तेल भिसा’को टिम प्रचारमा निस्किएको छ । रिलिज डेट नजिकिँदै जाँदा सिनेमाको निर्माणपक्ष र कलाकार प्रचारमा जुटेका हुन् । प्रचारकै क्रममा सोमबार निर्माण पक्षले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा सिनेमाका मुख्य कलाकार, निर्माता र निर्देशक उपस्थित थिए । जहाँ उनीहरुले आफ्नो धारणा राखे ।
कलाकार र निर्देशकले सिनेमा यथार्थको नजिक रहेको र निकै मेहनत गरेकाले दर्शकले मन पराउने बताए । अमेरिकामा रहेका नेपालीको जनजीवन झल्किने सत्यता घटनाहरुको जनिक रहेर सिनेमा बनाएको निर्देशक शंकर घिमिरेले बताए । कुनै एक भन्दा पनि अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा अन्य अमेरिकन तथा युरोपियन देशमा रहेका नेपालीले भोगिरहेका घटनामा केन्द्रित रहेर सिनेमा बनेको उनको भनाइ छ ।
‘तेल भिसा’को मुख्य भूमिका रहेका अभिनेता विपीन कार्कीले अमेरिकामा छायांकन हुँदा धेरै अग्रज कलाकारसँग नजिक हुन पाएका बताए । धेरै अग्रज कलाकारसँगको सामिप्यता बढेको उनले बताए । टाढाटाढाबाट सिनेमाकै लागि भनेर कलाकारहरु आएकाले उनीहरूमा कलाकारिताप्रतिको लगाव रहेको पुष्टि भएको उनले बताए ।
अग्रज कलाकारसँगको भेट र सहकार्यले पनि अमेरिकामा काम गर्न कठिन नभएको विपीनले सुनाए । आफूले सुरुमै मानसिक रुपमा तयार भएकाले पनि काम गर्न कठिन नभएको उनको भनाइ छ । विपीन ‘तेल भिसा’मा उनी दोहोरो भूमिका छन् । त्यसैले एउटै सिनेमामा काम गरे दुईवटा सिनेमामा काम गरेजस्तो लागेको उनको भनाइ छ ।
‘मलाई एउटै क्यरोक्टरमा काम पनि कस्तो हुने हो भनेर गाह्रो लाग्छ । दुईटा भनेपछि त झन गाह्रो हुन्छ नै,’ विपीन भन्छन्, ‘तर दोहोरो भूमिका छ भन्नवित्तिकै मैले क्यारेक्टरबारे सोच्न थालेको थिएँ । स्क्रिप्ट हातमा परेदेखि नै तयार गर्न थालेको थिएँ ।’
अभिनेत्री तथा ‘तेल भिसा’की निर्मात्री ऋचा घिमिरेले अमेरिकामा छायांकन भए पनि कठिन नभएको बताइन् । विपीनको सरलपनले पनि अमेरिकाको छायांकनमा सहज भएको उनको भनाइ छ । ‘उहाँको सरलपनले सिनेमाको काम गर्न सहज भयो । उहाँ अनस्क्रिन मात्रै होइन, अफ स्क्रिन पनि त्यति नै सरल हुनुहुन्छ । उहाँको जुन स्टारडम छ, त्यही अनुसार उहाँको व्यवाहार भएको भए अमेरिकामा काम गर्न सहज हुने थिएन,’ ऋचाले भनिन् ।
दोहोरो भूमिकामा भएकाले विपीनले दुईवटा सिनेमाको पारिश्रमिक लिनु भएको हो भन्ने प्रश्नले ऋचाले भनिन्, ‘स्टारडम र क्वालिटीअनुसार विपीन ५० लाख मात्रै होइन एक करोड रुपैयाँ डिजर्व गर्ने कलाकार हो ।’
ऋचाले ‘भूठान’बाट ११ वर्षपछि सिनेमामा फर्किएको स्मरण गर्दै ‘तेल भिसा’बाट निर्माणमा पनि हात हालेको बताइन् । निर्माण र अभिनय दुवैको जिम्मेवारीमा रहे पनि सबैको साथले सहज भएको उनले बताइन् । तर अभिनयको भोक भने पूरा नभएको सुनाइन् । ‘मेरो सिन प्याकअप हुँदा म निकै दुःखी भएको थिएँ । ला मेरो काम सकियो भनेजस्तो भयो,’ उनले सुनाइन्, ‘मलाई अभिनय गर्ने रहर नै पुगेकै थिएन ।’
यता, वर्षा राउतले नयाँ अनुभव सेयर गरिन् । उनले सिनेमामा गर्भवतीको रोलमा काम गरेकी छन् । त्यसैले उनले त्यही अनुभव सुनाइन् । आफू मोटो भएकाले अरु बेला पनि गर्भवती भएको भन्दै बधाई आउने गरेको उनको भनाइ छ । ‘ममीले नानी बधाई छ भनेर कमेन्ट आइरहेको छ किन भनेर फोन गर्नुभयो,’ उनले भनिन्, ‘मैले खाना खाएर पेट ठूलो देखेर होला भनेँ, त्यसैले मेरो घरमा मलाई मोटो देखिन्छ भनेर खाना खानै दिनुहुन्न ।’
अमेरिकामा बेली लगाएर सुटिङ गर्दा विदेशीले नै बधाई छ भनेर भन्दा आफूले पनि पाँच महिना, सात महिना भनेर हिँडेको उनले स्मरण गरिन् । ‘मैले गर्भवती हुँदाको क्यारेक्टर गर्दा ऋचा दिदीसँग धेरै कुरा साधेको थिएँ,’ उनले भनिन्, ‘उहाको सहयोगले पनि धेरै सजिलो भयो ।’ रियलमा गर्भवती हुँदा र बधाई आउँदा पनि आफूलाई आश्चर्य नलाग्ने उनले बताइन् ।
निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’ व्यंग्यात्मक रमाइलो नाम भएको बताए । ‘अमेरिका बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले बोलाउँदैनन्,’ उनले भने, ‘घुमाउन र बस्न पनि बोलाउँछन् । अरु कामका लागि पनि बोलाउँछन् ।’ विदेशी भूमिमा कानुन नबुझ्दा भोग्नु पर्ने अनेक समस्या सिनेमामा समेटिएको उनले जानकारी दिए ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।
विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदैछ ।



प्रतिक्रिया