द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक ३० गते शुक्रबारबाट सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ । बुधबारबाट देशभरका प्रायः मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनहरुले सिनेमाका लागि अग्रीम टिकट बुकिङ खुला गरेका छन् । सिनेमालाई देशभरका हलले राम्रो शो उपलब्ध गराएका छन् ।
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि सिनेमालाई देशभर कूल ४५ शो दिएको छ । जसमा काठमाडौं उपत्यकामा २१ र उपत्यकाबाहिर २४ शो छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले कूल ८ शो दिएको छ भने वान सिनेमाजले पनि नयाँ बानेश्वर र कालिमाटी स्टेशनमा गरी ८ शो उपलब्ध गराएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालित मल्टीप्लेक्सहरु एफक्युब र बिग मुभिजमा समान ५/५ शो, विएसआर मुभिजमा ४ शो पाएको सिनेमाको केही हलमा अझै बुकिङ खुल्न बाँकी छ । सिनेमाले पहिलो दिन एक सय ५० हाराहारी शो पाउने देखिन्छ । प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती सिनेमालाई रहनेछ । दक्षिण भारतीय सिनेमा ‘कंगुवा’ र नेपाली सिनेमा ‘केटी हराएको सूचना’ रिलिज नहुने भएपछि ‘ह्रस्व दीर्घ’लाई शोलो रिलिजको अवसर मिलेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।


प्रतिक्रिया