‘अग्निदहन’ले कोही पनि बोक्सी हुँदैन भन्ने सन्देश प्रवाह गर्ने छ : माओत्से गुरुङ

‘अग्निदहन’ले कोही पनि बोक्सी हुँदैन भन्ने सन्देश प्रवाह गर्ने छ : माओत्से गुरुङ

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता माओत्से गुरुङ अभिनयमा पारंगत मानिन्छन् । उनी कलाकार मात्रै नभई निर्माता तथा निर्देशक समेत हुन् । रंगमञ्च पृष्ठभूमिबाट नेपाली सिनेमामा प्रवेश गरेका उनले हरेक प्रकारका चरित्रमा प्राण भरेका छन् । दुई दर्जन बढी सिनेमामा काम गरिसकेका उनको नयाँ सिनेमा ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

यो सिनेमा नेपालमा प्र्रचलित बोक्सी कुप्रथाको कथामा बनेको हो । सिनेमामा उनी धामीको भूमिकामा छन् । ट्रेलरमा उनले बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरेको र मलमूत्र खुवाउन आदेश दिएको देख्न सकिन्छ । माओत्सेले धामीको चरित्र निभाउन धेरै मिहिनेत र पूर्वतयारी भने गर्नुपरेको थिएन ।

गाउँघरमा हुर्किएकाले बाल्यकालदेखि उनले धामी-झाँकी र महिलालाई बोक्सीको आरोप लगाएका घटना धेरै देखेका थिए । यसैले उनले आफूले देखेकै धामीबाट चरित्र निर्माण गरेका हुन् । कुनै बेला उनका बुबा आफैं पनि सामान्य झारफुक गर्ने भएकाले उनलाई चरित्रमा ढल्न झनै सजिलो भएको बताउँछन् ।

‘सिनेमामा म यस्तो व्यक्ति बन्नु थियो, जसले समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी भने गरिनँ । म गाउँमा जन्मे-हुर्केको मान्छे हुँ । धामी-झाँक्री र बोक्सी आरोपका थुप्रै घटनाहरू धेरै देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ,’ उनी भन्छन्, ‘सामान्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ ।’

ट्रेलर हेर्दा उनी क्रूर पात्र लाग्छन् । तर, आफू कथाको पात्र मात्र भएर काम गरेको उनको प्रष्टोक्ति छ । यो भूमिका निभाउन आफूलाई समस्या पनि नभएको उनी बताउँछन् । ‘सिनेमा गर्दा होस् वा नाटक, मलाई जुनसुकै चरित्र निभाउँदा पनि ‘इमेज’ विग्रिएला कि भन्ने डर लाग्दैन । ‘अग्निदहन’मा धामीको चरित्र निभाइरहँदा पनि मैले यही कुरा मनन गरेको थिएँ,’ उनले भने ।

माओत्सेको बुझाईमा ‘बोक्सी’को आरोप लागेका महिलाप्रति सबै धामी क्रूर हुँदैनन् । कति धामीले मनोवैज्ञानिक रूपमा ‘ट्रिटमेन्ट’ गरेको पनि आफूले देखेको उनी स्मरण गर्छन् । तर, बोक्सीको नाममा महिलालाई दुःख दिनु भनेको चाहिँ अमानवीय कार्य मान्छन् उनी । ‘अग्निदहन’ले कोही पनि बोक्सी हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुन लागेको सिनेमालाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो ।

मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको सिनेमामा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ । मान्छे बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रुपमा अगाडि बढाउन फिल्म बनाएको उनको भनाई छ । सिनेमालाई डिसिएनले नेपालभर वितरण गर्दैछ ।