द सिनेमा टाइम्स, काठमाडौं । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रबार दिनभर नै देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरेकमो सिनेमाले शनिबार पनि बिहानी शोबाट नै आक्रामक व्यापार गरिरहेको छ ।
शुक्रबार दिनभर सिनेमाले उत्साहजनक व्यापार गरेपछि निर्माण टिमले कलाकारसहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । सिनेमा हेरेर हलबाट निस्केका दर्शकले उत्कृष्ट बनेको भन्दै अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना, अभिनेता तथा लेखक हरिहर अधिकारी, अभिनेत्री विपना थापा र दक्षिण भारतीय कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।
सिनेमालाई दर्शकको उत्साहजनक साथ मिलेपछि अभिनेत्री तथा निर्मात्री नीता प्रफुल्ल देखिइन् । विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया बटुलेपछि मिडियासँगको कुराकानीमा उनले भनिन्, ‘दर्शकलाई सिनेमा मनपर्छ कि पर्दैन भन्ने उत्सुकता र डर थियो । तर, बिहानैदेखि देशभर सिनेमा हाउसफुल भएको छ । दर्शकले सिनेमालाई स्वीकार्नुभएको छ, त्यो कुरामा खुसी छु । तर सिनेमाले दिनभर हाउसफूल व्यापार गर्दा पनि शनिबारको लागि शो नथपिएको भन्दै गुनासो गरेकी थिइन् ।’
निर्देशक चन्द्र पन्तले पनि आफुहरुले २ वर्षसम्म गरेको मेहनत सार्थक भएको भन्दै खुशी व्यक्त गरेका छन् । आफ्नो पहिलो निर्देशकिय सिनेमालाई दर्शकको उत्साहजनक साथ मिलेसँगै आगामी दिनमा अझै उत्कृष्ट सिनेमा निर्माण गरेर दर्शकमाझ पस्किनु पर्ने चुनौती थपिएको निर्देशक पन्तको भनाई छ । अभिनेता हरिहरको एक्सन अवतारलाई पनि दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि अभिनेता हरिहरले सिनेमा हेरेर साथ दिने सम्पुर्ण दर्शकलाई धन्यवाद दिएका छन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।



प्रतिक्रिया