द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको अभिनय तथा निर्माण रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ हाल दोस्रो हप्तामा प्रदर्शनरत छ । पहिलो हप्ता उत्साहजनक व्यापार गरेको सिनेमाले दोस्रो हप्तामा पनि सुखद् व्यापार गरिरहेको छ । दोस्रो हप्तामा पनि सिनेमाले राम्रो व्यापार गरेपछि निर्माण टिम शनिबार विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो ।
पहिलो हप्ता बक्सअफिसमा ५ करोड ५४ लाख ग्रसकलेक्सन गरेको सिनेमाले दोस्रो हप्ताको शनिबारसम्ममा ६ करोड ६९ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले बताए । सिनेमाले ९ दिसम्म देशभरबाट यो कलेक्सन गरेको हो । अहिले पनि सिनेमाले देशभरका सिनेमा हलमा राम्रो व्यापार गरिरहेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना बताउँछिन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।


प्रतिक्रिया