नीता र हरिहरलाई दाङमा भव्य स्वागत, १२औं दिनमा पनि हाउसफूल ‘ह्रस्व दीर्घ’

नीता र हरिहरलाई दाङमा भव्य स्वागत, १२औं दिनमा पनि हाउसफूल ‘ह्रस्व दीर्घ’

द सिनेमा टाइम्स
651
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मल्टीस्टारर सिनेमा ‘ह्रस्व दीर्घ’ यतिवेला दोस्रो हप्तामा प्रदर्शनरत छ । दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको सिनेमाको निर्माण टिम यतिवेला दर्शकसँग साक्षात्कार गर्न मोफसल यात्रामा निस्केको छ ।

गत बुधबारबाट नेपालगञ्ज पुगेको निर्माण टिम आज मंगलबार दाङ पुगेको हो । अभिनेता हरिहर अधिकारीको गृह जिल्ला समेत हो । सिनेमाकी मुख्य अभिनेत्री तथा निर्मात्री नीता ढुंगानासहितको टिमलाई दाङमा भव्य स्वागत गरिएको छ । प्रदर्शनको दिनदेखि नै हाउसफूल व्यापार गरिरहेको सिनेमाले आज मंगलबार नीता र हरिहरसहितको टिम आउने खबर पाएसँगै हलमा दर्शकको उपस्थिति उच्च देखिएको छ । हलले उपलब्ध गराएका सवैजसो शो राताम्य देखिएका छन् ।

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना प्रदर्शन १२ औं दिनमा पनि देशभरका हलमा देखिएको दर्शकको उत्साहजनक साथले खुशी मिलेको बताउँछिन् । सिनेमाले प्रदर्शनको ९ दिनसम्ममा ६ करोड ६९ लाख ग्रसकलेक्सन गरिसकेको हिसाव वितरकले सार्वजनिक गरिसकेका छन् । सिनेमाले नेपाल विदेश रिलिजबाट लगानी उठेर पनि नाफा कमाउन थालेको दाबी निर्मात्री ढुंगानाको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।